
दार्चुला । दार्चुलाका राष्ट्रवादी नेता स्वर्गीय प्रेमसिह धामीको पूर्ण कदको सालिक निर्माण गर्न नेकपा दार्चुलाले माग गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा सुदूरपश्चिम प्रदेशका अन्य चार जना सहिदको अत्तरीयामा पूर्ण कदको शालिक निर्माण गर्ने निर्णय गर्दा दार्चुलाका नेता स्वर्गीय प्रेमसिह धामीको नाम छुटाएको भन्दै राष्ट्रवादी नेता धामीको पनि सालिक निर्माण गर्न माग गरेको हो ।
नेकपा दार्चुलाको आइतबार बसेको कार्यालय बैठकले स्वर्गीय धामीको सालिक निर्माणको लागि पहल गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश कमिटि र प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष गणेशसिह खत्रीको अध्यक्षतामा बसेको बैठकले असार १ गते प्रस्तुत गरिएको बजेटमा स्वर्गीय धामीको नाम छुटाएर समग्र दार्चुलेली जनताको भावनामाथि ठेस पुर्याएको भन्दै जिल्लावासी जनताको भावना सम्बोधन गर्न माग गरिएको नेताहरुले बताएका छन् ।
प्रदेश सरकारले जयपृथ्बी बहादुर सिंह, दशरथ चन्द, भिमदत्त पन्त तथा पहलमान सिह स्वारको सालिक अत्तरीयामा निर्माण गर्ने बजेटमा समावेस गरेको छ । २०५१ सालको निर्वाचनमा दार्चुलाबाट निर्वाचित राष्ट्रवादी नेता धामीले कालापानी काठमाण्डौंलाई किन दुख्दैन भन्दै पहिलो पटक संसदमा आवाज बुलन्द गर्दै राष्ट्को ध्यानकर्षण गराउनुभएको थियो । स्वर्गीय नेता धामीले उठाएको मुद्धा अहिले आएर राष्ट्रियकरण भएको छ । सरकारले नेपालको नक्सा र निसानछापमा कालापानी, लिम्पियाधुरा, लिपुुलेक समेटेको छ ।
नेता धामीले सीमाकाे मुद्धा मात्र नभइ सुदूरपश्चिमेलीहरुकाे महान पर्व गाैरालाइ राष्टि्य पर्वका रुपमा स्थापित गरेर सार्वजनिक बिदा गराउने लगायत जनप्रिर्य काममा समेत महत्तपुर्ण याेगदान पुर्याउनुभएकाे थियाे ।
२०५१ सालमा पुर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको ९ महिने कम्युनिष्ट सरकारमा आवास तथा भौतिक योजना राज्यमन्त्रीको महत्वपूर्ण जिम्मेवारी समेत प्राप्त गरेका नेता धामीले राष्ट्रियताको विषयमा स्पष्ट र दुरगामी आवाज उठाएकै कारण अहिलेपनि नेपालीहरुले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।