
दार्चुला । दार्चुलामा कोरोना संक्रमितको संख्या २० पुगेको छ । शैल्यशिखर नगरपालिकाका ३ जना र दुहुँ गाउँपालिकाका १ जनामा शुक्रबार बेलुकी कोरोना संक्रमण पुष्टी भएसंगै संक्रमितको संख्या २० पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन बिरेन्द्रराज भट्टका अनुसार हालसम्म शैल्यशिखर नगरपालिकामा १४ जना, महाकाली नगरपालिका र लेकम गाउँपालिकामा २÷२ जना तथा दुहुँ गाउँपालिकामा एक जनामा संक्रमण देखिएको छ । मार्मा गाउँपालिकाका एक जना संक्रमितको जिल्ला बाहिर उपचार भइरहेको छ ।
संक्रमितमध्ये १२ जना निको भई घर फर्किसकेका छन् । महाकाली नगरपालिकाका एक जना संक्रमित पुरुषको तीन पटक पीसीआर जाचँ गरेर घर पठाइएको भएपनि बाकी ११ जनाको कोरोना लक्षण नदेखिएको भन्दै स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसार दोस्रो चोटी परीक्षण नगरेरै घर पठाइएको थियो । कोरोना भाइरस नेगेटिभ नआउदै घर पठाउदा गाउँघरमा कोरोना भाइरस फैलिने जोखिम हुने भन्दै पीसीआर पोजेटिभ देखिएकाहरुको दोस्रो रिपोर्ट नेगेटिभ नआउदासम्म घर पठाउनु नहुने माग स्थानीयले गरीरहेका छन् ।
पछिल्लो पटक संक्रमित पुष्टि भएका शैल्यशिखर नगरपालिकाका ६ जना क्वारेन्टाइनमा छन् । दुहुँ गाउँपालिकाका १ जना संक्रमित जिल्ला अस्पताल दार्चुलामा रहेको भट्टलले बताउनुभयो । असार २ गते दार्चुलामा संकलन गरिएको २२८ स्वाबको पीसीआर परीक्षण काठमाण्डौंमा भइरहेको छ । उनिहरुमध्ये ६४ जनाको नतिजा आउन बाँकी छ ।
महाकालीका ३२, नौगाडका २०, मालिकार्जुनका ८४, लेकमका २८, शैल्यशिखरका ३८, व्यासका ७, अपीहिमालका ६ र मार्माका १३ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी धनगढी पठाइएकोमा धनगढीमा स्वाबको चाप रहेकाले काठमान्डौँ पठाइएको थियो । दार्चुलामा अहिलेसम्म ११५ जनाको आरडिटी पोजेटिभ देखिएको छ ।
दार्चुला जिल्लाभरीमा दुइ हप्ता पहिले क्वारेन्टाइनमा बस्नेहरुकाे संख्या साढे १६ सय पुगेकाेमा शनिबार झण्डै ५ सय जना मात्रै क्वारेन्टाइनमा रहेका छन् । भारतबाट घर फर्केकाे केहि दिनमै क्वारेन्टाइनबाट घर फर्केर मार्मा गाउँपालिकाको वडा नम्बर ३ मा असार ३ गते मृत्यु भएका २६ वर्षिय पुरुषमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।