
दार्चुला । कोरोना भाइरसको महामारीका कारण तीन महिनादेखि ठप्प रहेको विद्यार्थीको पठनपाठनलाई बैकल्पिक विधिबाट निरन्तरता दिन थालिएपनि दार्चुला लगायत दुर्गम जिल्लाका विद्यार्थी दूर शिक्षाको पहुँच बाहिर छन् ।
शिक्षक र विद्यार्थीको सम्पर्क र समन्वय नहुने अवस्था शृजना भएपछि महाकाली नगरपालिका ७ धापमा रहेको मालिकार्जुन नमुना माबिका प्रधानाद्यापक सहित शिक्षकहरुको टोली घरटोलमै विद्यार्थी भेटघाट तथा परामर्श गरिरहेको छ । माबि धापका प्रधानाद्यापक सुन्द्रसिंह बुढाथोकीका अनुसार ढिलै भएपनि शिक्षकहरुको टोलीले गत शैक्षिकसत्र २०७६ को छात्रवृत्ति रकम घरटोलमै विद्यार्थीको हातमा पुर्याएको छ ।
अधिकासं विद्यार्थीले छात्रवृत्ति नपाएको अवस्थामा माबि धापका प्रधानाद्यापक बुढाथोकीको नेतृत्वमा विभिन्न किसिमका छात्रवृत्ति रकमलाई बिद्यार्थी समक्ष पुर्याउन घरमै र टोलटोलमै शिक्षक परिचालित भएका हुन् । छात्रवृत्ति वितरण संगै बिद्यार्थीहरु संग दूरशिक्षाको प्रभावकारिता बारे छलफल भएको छ । बर्तमान अवस्थामा अभिभावक र शिक्षकको भुमिका कस्तो हुने भन्ने विषयमा गहन छलफल एबं परामर्श भएको उहाँले बताउनुभयो ।
छलफलबाट ग्रामीण भेगमा टीभीको अभाव, ईन्टरनेटको पहुँचबाट टाढा र रेडियो नेपाल स्पष्ट नसुनिने समस्याका कारण सरकारले सञ्चालन गरेको दूरशिक्षालाई दुर्गमका विद्यार्थी समक्ष पुरयाउनु चुनौतीपुर्ण रहेको अवस्थामा ठाउ, भेग र महामारीको अवस्थालाई मध्यनजर राखी विद्यार्थीहरुको शैक्षिकसत्र खेर हुन नदिन शिक्षक र अभिभावकसंग मिलेर योजना बनाउन सके केहि हदसम्म प्रभावकारी हुने प्रधानाद्यापक बुढाथोकीको भनाइ छ ।
सरकारले असार १ गतेबाट अनलाइन, रेडियो, टेलिभिजनबाट पढाउन शुरु गरेपनि दुर्गमका विद्यार्थीले आफुहरुलाई जानकारी नै नभएको बताएका छन् । भौगोलिक विकटता, विद्युतको पहुँच पुग्न नसकेको र टीभी तथा रेडियोको समेत सबै ठाउँमा पहुच नहुदा लाखौँ विद्यार्थी बैकल्पिक शिक्षाको पहुँच बाहिर रहेका छन् । अधिकासं आधारभुत र माद्यमिक विद्यालयहरु ग्रामीण क्षेत्रमा भएकोले अनलाइन, टेलिभिजन र रेडियो नेपालको पहुँच छैन । स्थानीय एफ.एम. रेडियोहरुबाट कक्षा सञ्चालन नहुदा आफुहरुले पठनपाठनबाट बञ्चित हुनुपरेको लेकम गाउँपालिकाका विद्यार्थी त्रिलोक जोशीले बताउनुभयो ।
टेलिभिजन घरमा नभएकाले छोराछोरीले नपढेको अभिभावकको गुनासो छ । लेकमका दुर्गादत्त जोशीले भन्नुभयो, एफ. एम. रेडियोमा पढाइ भइरहेको छैन, टीभी, रेडियो नेपाल र इन्टरनेटको सुविधा छैन, किताब खोजेर बालबालिकालाई घरमै पढ्न लगाएको छु । कतिपय विद्यार्थी र अभिभावकलाई बैकल्पिक पढाइको तालिकाको बारेमा समेत जानकारी नरहेको पाइएको छ ।
अनलाइन टीभी र रेडियो नेपालबाट पढ्न सम्भब नभएकोले एफ.एम रेडियोबाट कक्षाहरु सञ्चालन गर्न धेरैजसो शिक्षक, अभिभावक र विद्यार्थीहरुले अनुरोध गरेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले टेलिभिजन र रेडियोबाट पढाउने भनेको भए पनि यहाँका अधिकासं शिक्षक–विद्यार्थी यसबारेमा अनभिज्ञ रहेको शिक्षक रमकेश खत्रीले बताउनुभयो ।
ग्रामिण क्षेत्रमा स्थानीय सामुदायिक एफएममार्फत पढाउन सकिने तर टेलिभिजनबाट विद्यार्थीले पढ्न पहुच नरहेको अभिभावकको दुखेसो छ । चालु शैक्षिक सत्रको तीन महिना वितिसकेकोले बैकल्पीक शिक्षाका लागि रेडियोबाट र समुदाय स्तरमा शिक्षकहरुले विद्यार्थीहरुलाई पढाउनु आवश्यक रहेको अधिकासं विद्यार्थी र अभिभावकको माग छ ।
विद्यार्थीको आवश्यकता र शिक्षक, अभिभावकको मागलाई मध्यनजर गर्दै रेडियो लोकदर्पण ९४.६ मेगाहर्जले यसै हप्तादेखि आधारभुत र माद्यमिक तहको कक्षा रेडियोबाटै सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।