सर्मोली । लेकम गाउँपालिका वडा नम्बर १ को कार्यालय सर्मोलीमा स्थानीय युवाहरुले तालाबन्दी गरेका छन् । ऐरिछाना धनथला सडक निर्माणको काम सहमति अनुसार अगाडी नबढेको भन्दै तत्काल सर्मोली क्षेत्रमा सडकको काम अगाडी बढाउनुपर्ने मागसहित आइतबार बिहान वडा कार्यालयमा तालाबन्दी गरिएको युवाहरुले बताएका छन् ।

स्थानीय दिपक साउँदका अनुसार, सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरिरहेको ऐरिछाना धनथला सडकलाई दुई खण्डमा बराबर निर्माण गर्ने सहमतिको पालना नभएको भन्दै युवाहरुले तालाबन्दी गरेका हुन् । न्यू हुनैनाथ निर्माण सेवा प्रालीले ठेक्का पाएर निर्माण भइरहेको ऐरीछाना धनथला सडकखण्डलाई ऐरीछानादेखि रातामाटा हुदै धनथला जोड्ने गरी एउटा सडकखण्ड र ऐरीछानादेखि सर्मोली हुदै धनथला जोड्न अर्को सडकखण्ड निर्माण गर्ने गाउँपालिकाको सहमति थियो । रातामाटा क्षेत्रमा बढी काम गरेर सर्मोली क्षेत्रमा थोरै काम भएको युवाहरुको आरोप छ ।

चालु आर्थिक वर्षमा सर्मोली र रातामाटा दुबै खण्डमा ५०÷५० लाख रुपैया र ऐरिछानादेखि रिठाचौपातासम्म सडक मर्मत तथा स्तरोन्नती गर्न ८० लाख गरी १ करोड ८० लाख रुपैयाको ठेक्का भएको थियो । निर्माण व्यवसायिका अनुसार ऐरिछाना रातामाटा धनथला सडकमा सम्झौता अनुसार नै काम भएको छ । उक्त क्षेत्रमा ठेक्का अनुसारको काम सम्पन्न भइसकेपछि सर्मोली क्षेत्रको बाकी काम अघि बढाइनेछ । शुरुमा सिरोडादेखि सर्मोली क्षेत्रमा केहि काम भइसकेको र बाकी काम केहि दिनमै गर्ने तयारी भइरहेको छ ।

सर्मोलीका केहि युवाहरुले भने जनप्रतिनिधिले आफुहरुलाई बाहानाबाजी र झुटो आश्वासन दिएर सडक निर्माण कार्य रोकेको भन्दै आन्दोलन नै गर्न थालेका छन् । आफुहरुले असार १२ गते वडा कार्यालयमा ध्यानआकर्षण पत्र बुझाइसकेको भएपनि सुनुवाई नभएपछि असार १४ गते आइतबारदेखि तालाबन्दी गर्नुपरेको स्थानीय दिपक बिष्टले बताउनुभयो ।

सम्झौता अनुसार सडक निर्माण नगरे गाउँपालिकाको कार्यालयमै तालाबन्दी गर्ने चेतावनी युवाहरुको छ । गाउँपालिका र निर्माण व्यवसायिले भने ठेक्का सम्झौता अनुसार नै सडक निर्माण हुने भएकोले नआत्तिन युवाहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?