दार्चुला । लेकम गाउँपालिका वडा नम्बर १ का युवाहरुको समुहले लेकम गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारबाट निर्माणाधिन ऐरिछाना धनथला सडक निर्माणको काम सहमति अनुसार अगाडी नबढेको भन्दै तत्काल सर्मोली क्षेत्रमा सडकको काम अगाडी बढाउनुपर्ने मागसहित सोमबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको स्थानीय दिपक बिष्टले बताउनुभयो ।
आइतबार बिहान वडा कार्यालयमा तालाबन्दी गरेका उनिहरुले माग सम्बोधन नभएको भन्दै सोमबार गाउँपालिका कार्यालयमै पुगेर तालाबन्दी गरेका हुन् । सर्मोलीका स्थानीय अनिल साउँदका अनुसार, सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरिरहेको ऐरिछाना धनथला सडकलाई दुई खण्डमा बराबर निर्माण गर्ने सहमतिको पालना नभएको भन्दै युवाहरुले तालाबन्दी गरेका हुन् । न्यू हुनैनाथ निर्माण सेवा प्रालीले ठेक्का पाएर निर्माण भइरहेको ऐरीछाना धनथला सडकखण्डलाई ऐरीछानादेखि रातामाटा हुदै धनथला जोड्ने गरी एउटा सडकखण्ड र ऐरीछानादेखि सर्मोली हुदै धनथला जोड्न अर्को सडकखण्ड निर्माण गर्ने गाउँपालिकाको सहमति थियो ।
रातामाटा क्षेत्रमा बढी काम गरेर सर्मोली क्षेत्रमा थोरै काम भएको युवाहरुको आरोप छ । चालु आर्थिक वर्षमा सर्मोली र रातामाटा दुबै खण्डमा ५०÷५० लाख रुपैया र ऐरिछानादेखि रिठाचौपातासम्म सडक मर्मत तथा स्तरोन्नती गर्न ८० लाख गरी १ करोड ८० लाख रुपैयाको ठेक्का भएको थियो । निर्माण व्यवसायिका अनुसार ऐरिछाना रातामाटा धनथला सडकमा सम्झौता अनुसार नै काम भएको छ । शुरुमा सिरोडादेखि सर्मोली क्षेत्रमा केहि काम भइसकेको र बाकी काम केहि दिनमै गर्ने तयारी भइरहेको निर्माण व्यवसायिको भनाइ छ ।
सर्मोलीका केहि युवाहरु भने निर्माण व्यवसायि र जनप्रतिनिधिले आफुहरुलाई बाहानाबाजी र झुटो आश्वासन दिएर सडक निर्माण कार्य रोकेको भन्दै आन्दोलित भएका छन् । आफुहरुले असार १२ गते वडा कार्यालयमा ध्यानआकर्षण पत्र बुझाइसकेको भएपनि सुनुवाई नभएपछि असार १४ गते आइतबारदेखि वडा कार्यालय र १५ गते गाउँपालिका कार्यालयमा तालाबन्दी गर्नुपरेको स्थानीय दिपक बिष्टले बताउनुभयो । गाउँपालिका र निर्माण व्यवसायिले भने ठेक्का सम्झौता अनुसार नै सडक निर्माण हुने भएकोले नआत्तिन युवाहरुलाई आग्रह गरेका छन् । डिपिआर अनुसार २८ हजार घन मिटर सडक निर्माण नगरिए आन्दोलन थप चर्काउन बाध्य हुने संघर्ष समितिका अनिल साउँदले बताउनुभयो ।
लेकम गाउँपालिकाका प्रबक्ता महेन्द्रराज जोशीका अनुसार, प्रदेश सरकारबाट सञ्चालित सडक भएकोले प्रदेश सरकारकै ठेक्का अनुसार सडक निर्माण भएकोले गाउँपालिकामा ताला लगाउनुभन्दा प्रदेश सरकारसंग समन्वय गर्नु उपयुक्त हुने बताउनुभयो । प्रदेश सरकारसंग समन्वय गर्ने र समस्या समाधान गर्ने तथा सर्मोली क्षेत्रमा प्राथमिकताका साथ छिट्टै सडक निर्माण गर्ने प्रतिबद्धता गर्दा समेत युवाहरुले मानेका छैनन् । युवाहरुले मंगलबारसम्म माग पुरा गर्न अल्टीमेटम दिएका छन् ।
लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले उक्त सडकको विषयमा छलफल गर्न मंगलबार बिहान गाउँकार्यपालिकाको आकस्मीक बैठक आह्वान गरेको प्रबक्ता जोशीले बताउनुभयो । आन्दोलनरत पक्ष, प्रहरी, प्रशासन, निर्माण व्यवसायि, प्रदेश सरकार र सरोकारवाला सबैसंगको सल्लाह अनुसार ताला खोल्ने विषयमा सल्लाह गरिने उहाँले बताउनुभयो ।
गाउँपालिकाकाे कामकाज नै प्रभावित हुने गरेर तालाबन्दी गर्नुभन्दा छलफलकाे माध्यमबाट समस्याकाे समाधान गर्नु उपयुक्त हुने सराेकारवालाहरुकाे भनाइ छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।