दार्चुला । सोमबार दार्चुला सहित देशभरी १७ औँ धान दिवस मनाइएको छ । लेकम गाउँपालिकामा समेत गाउँपालिका अध्यक्ष परमानन्द जोशीको नेतृत्वमा धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि नाराका साथ राष्ट्यि धान दिवस मनाइएको लेकम गाउँपालिका कृषि शाखा प्राविधिक अशोक पन्तले जानकारी दिनुभयो । आज बिहान १० बजे खरकडामा रोपाइ लगाएर धान दिवस मनाइएको उहाँले बताउनुभयो ।
दार्चुलाका अधिकासं स्थानीय तहमा रोपाइ गरेर धान दिवस मनाइएको छ । असारे रोपाइँमा सरिक हुने वा नहुुने सबैले दही चिउरा खाएर असार १५ मनाएका छन् । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ । पछिल्लो समय रोपाइमा गाइने लोक भाकाहरु लोप हुदै गएको लेकमका स्थानीय हरिप्रसाद जोशीले बताउनुभयो । यो वर्ष समयमै वर्षा भएकोले अधिकासं कृषकले समयमै रोपाइ लगाएका छन् ।
वैद्धनाथहरुका अनुसार दही र चिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै दही पाचन प्रणालीका लागि निकै राम्रो खाद्य पदार्थ भएकाले अरू बेला पनि दही खानु स्वास्थ्यवद्र्धक हुन्छ । सरकारले २०६२ सालदेखि यो दिनलाई धान दिवसका रूपमा मनाउन थालेको छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।