दार्चुला । दार्चुलाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा असार १६ गते मंगलबार तीन वटा स्थानमा बीओपी थपिने भएका छन् ।
दार्चुला जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सशस्त्र प्रहरीले लेकम गाउँपालिकाको लाली, मालिकार्जुन गाउँपालिकाको जोलजिवि र व्याँस गाउँपालिकाको दुम्लिङमा सुरक्षा पोष्ट (बीओपी) स्थापना गर्ने भएको छ । बीओपी स्थापनाको तयारी पूरा भइसकेको दार्चुला सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरीको गुल्म नम्बर ५० हेडक्वाटर दार्चुलाले जनाएको छ ।
गृह मन्त्रालयबाट स्वीकृति प्राप्त भइसकेकोले लाली, जौलजिबि र दुम्लीङमा असार १६ गते बीओपी स्थापना हुने सशस्त्र प्रहरी दार्चुलाका डिएसपी डम्बरवहादुर विष्टले बताउनुभयो । बीओपि उद्घाटनका लागि सुदूरपश्चिम प्रदेशस्थित सशस्त्र प्रहरी बलका प्रमुख एवं डिआइजी हरिशंकर बुढाथोकी दार्चुला आउन लाग्नुभएको छ । जोलजिवि र लालीको बीओपि उद्घाटनमा डिआइजी बुढाथोकी सहभागी हुने र दुम्लिङको बीओपि भिडियो सम्पर्कबाट उद्घाटन गर्ने तयारी छ ।
भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्र नजिकको व्यासको छाङरुमा गत वैशाख ३१ गते बीओपि स्थापना गरिएको थियो । छिट्टै अतिक्रमित भूमि नजिकको कौवाक्षेत्र र चीन सीमानजिकको तिंकरका साथै विभिन्न स्थानमा बीओपि थप्ने तयारी सरकारको छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।