दार्चुला। दार्चुलाको नेपाल—भारत सीमावर्ती क्षेत्रमा एकैदिन सशस्त्र प्रहरीको तीनवटा सीमा सुरक्षा पोष्ट (बीओपी) थपिएका छन् । बिहिबार सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रमुख बैद्यनाथ बाहिनिपति डिआइजी हरिशंकर बुढाथोकीले लेकम गाउँपालिका—३ लाली, मालिकार्जुन गाउँपालिका—७ जोलजिबि र व्याँस गाउँपालिका—२ दुम्लीङमा स्थापना भएका बीओपीको उद्घाटन गर्नुभएको छ ।

बुधबार बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको बीओपी उद्घाटन गरेर दार्चुला आइपुगेका डिआइजी बुढाथोकीले बिहिबार तीन वटै बीओपीको उद्घाटन गरेको सशस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ५० हेडक्वाटर दार्चुलाका डिएसपी डम्बरवहादुर विष्टले जानकारी दिनुभयो । डिआइजी बुढाथोकी जोलजिबि र लालीमा बीओपी स्थलमा पुग्नुभएको थियो भने दुम्लीङमा भिडियो कन्फ्रेन्समार्फत बीओपी उद्घाटन गरिएको डिएसपी बिष्टले बताउनुभयो ।

तीन वटै बीओपीमा २०÷२० जना सुरक्षाकर्मी खटाइएका छन् । तत्काल बीओपीको नेतृत्व सशस्त्र प्रहरी नायव निरीक्षकले गरेका छन् । केही समयपछि सशस्त्र प्रहरी निरीक्षकले नै बीओपीको नेतृत्व गर्ने डिएसपी विष्टले बताउनुभयो । गत मंगलबार नै दार्चुलाका तीनवटै स्थानमा बीओपी उद्घाटन गर्ने तयारी भएपनि महाकाली लोकमार्गअन्तर्गत मालिकार्जुन गाउँपालिकाको पनेबाँजमा सडक अवरुद्ध भएर डिआइजी बुढाथोकी बैतडीमै रोकिनुभएको थियो ।

भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्र नजिकको व्यासको छाङरुमा गत वैशाख ३१ गते बीओपि स्थापना गरिएको थियो । दोस्रो चरणमा अतिक्रमित भूमि कालापानी नजिकको कौवाक्षेत्र, महाकाली नगरपालिका—९ दत्तु, व्याँस गाउँपालिका—३ सुनसेरा र व्याँस गाउँपालिका—१ चीन सीमा नजिकको तिंकर लगायत विभिन्न स्थानमा बीओपी थप्ने सरकारको तयारी छ । जिल्ला सुरक्षा समितिले उक्त चारवटै स्थानमा बीओपी थप्न सिफारिस गरिसकेपनि गृह मन्त्रालयले निर्णय गर्न बाकी रहेको उहाँले बताउनुभयो ।

बीओपी उद्घाटन गर्दै डिआइजी बुढाथोकीले स्थानीय नागरिक र भारतीय सुरक्षाकर्मी संग समेत समन्वय गरि सीमा गस्ती र सीमा सुरक्षा निगरानी गरिने बताउनुभयो ।

बीओपी उद्घाटन कार्यक्रममा लेकम गाउँपालिका अध्यक्ष परमानन्द जाेशीले सीमामा सुरक्षा पाेष्ट स्थापना गरेकाेमा नेपाल सरकारलाइ धन्यबाद दिदै राष्ट्सेवक सुरक्षाकर्मीलाइ स्थानीयकाे साथ सहयाेग रहने धारणा राख्नुभयाे ।

पछिल्लो समय सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढेसंगै सीमा निगरानी र आपराधिक घटनामा कमि आएको सुरक्षा अधिकारीहरु बताउछन् । छाङरुस्थित बीओपीबाट सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको नेतृत्वमा सुरक्षाकर्मी नेपाल—चीन एक नम्बर सीमा स्तम्भ, कौवा क्षेत्र र तिकंरमा समेत नियमित गस्ती गर्न थालेका छन् ।

सीमामा सशस्त्रको उपस्थिति बढ्दै गएपछि सीमा सुरक्षा, अबैध चोरी सिकार, तस्करी, प्रतिबन्धित सामानहरुको ओसारबसार लगायत गतिविधि नियन्त्रण हुने भन्दै स्थानीय हर्षित भएको लेकम गाउँपालिका—३ का स्थानीय डम्बर भण्डारीले बताउनुभयो ।

गाेरखापत्रबाट

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?