बैतडीका आठ स्थानीय तह पहिराको उच्च जोखिममा

बैतडी । देशभर बाढी र पहिराको घटनाले धनजनको क्षति भइरहेका बेला बैतडी पनि पहिराको उच्च जोखिममा रहेको देखिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार आठ वटा स्थानीय तह पहिराको उच्च जोखिममा रहेका छन्।

मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौँडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिका पहिराको उच्च जोखिममा रहेका हुन्। विभिन्न प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा जोखिम रहेको भए पनि आठ वटा स्थानीय तह पहिराको उच्च जोखिम रहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयाे।

अहिलेसम्म पहिराले पु¥याएको क्षति, प्रकोपको स्तरीकरण र सम्भावित जोखिमको विश्लेषण गर्दा आठ वटा स्थानीय तह पहिराको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताउनुभयाे। उहाँले भन्नुभयाे, “सुर्नया र पाटनबाहेक अरु स्थानीय तह पहिराको उच्च जोखिममा छन्, यी दुई स्थानीय तहमा पनि जोखिम कायमै छ।”

जिल्लामा विभिन्न किसिमका प्रकोपको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनुभयाे। उहाँले विगतका वर्षमा बाढीपहिराले गराएको क्षति र अझै सम्भावना रहेका आधारमा उच्च जोखिममा राखिएको बताउनुभयाे।

जिल्लाको डिलाशैनी गाउँपालिकाको बाङ्गाबगर, गोकुलेश्वर, रुद्रेश्वर, साउनगाउँ, देवगाउँ, ल्वारी खेतलगायतका ठाउँ पहिराको उच्च जोखिममा छन् भने दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिराको उच्च जोखिममा छन्। यस्तै जिल्लाको पुरर्चौंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिराको उच्च जोखिममा छन्।

मल्लादेहीको लामुनी पहिराका कारण प्रत्येक वर्ष धनजनको क्षति हुने गरेको स्थानीय नरेन्द्र साउँदले बताउनुभयाे। उहाँले भन्नुभयाे, “हरेक वर्ष पहिरो नियन्त्रण भनेर बजेट आउने गरेको भए पनि पहिरो नियन्त्रण हुन सकेको छैन।”

चार स्थानीय तहमा विपद् व्यवस्थापन योजना छैन

जिल्लाका आठ स्थानीय तह पहिराको उच्च जोखिममा रहेको भए पनि स्थानीय तहमा अझै विपद् व्यवस्थापन योजना बनेका छैनन। स्थानीय तहमा जनप्रतिनिधि आएको तीन वर्ष बढी भइसक्दासमेत विपद् व्यवस्थापन योजना नबन्दा विपद्का बेला समस्या हुने गरेको छ।

प्रत्येक स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समिति र विपद् व्यवस्थापन योजना हुनुपर्ने भएपनि बैतडीका चार वटा स्थानीय तहले विपद् व्यवस्थापन योजना बनाउन नसकेका हुन्। जिल्लाको सुर्नया गाउँपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले अझै पनि विपद् व्यवस्थापन योजना बनाएका छैनन्।

उनीहरुले कार्यविधि बनाएर काम गरिरहेका छन्। जिल्लाको पुर्चौंडी नगरपालिकाले पनि योजना बनाएको भए पनि नगरसभाबाट पारित भने गर्न सकेको छैन्। चालू आर्थिक वर्षमा विपद् व्यवस्थापन योजना बनाएको नगरपालिकाले केही दिनमा पारित गर्ने तयारी गरेको नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले बताउनुभयाे।

स्थानीय तहसँग विपद् व्यवस्थापन योजना नहुँदा विपद्को समयमा के गर्ने कसो गर्ने भन्ने अलमल हुने गरेको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताउनुभयाे। उहाँले भन्नुभयाे, “विपद्का बेला व्यवस्थापन योजना नहुँदा विपद्मा परेका नागरिकलाई झन समस्या हुने गर्दछ।”

स्थानीय सरकारसँग विपद् व्यवस्थापन योजना नहुँदा विपद्का समयमा राहत, उद्धार तथा अन्य कार्य परिचालन गर्न समस्या हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयाे । उहाँले भन्नुभयाे,  “जिल्लाका प्रत्येक स्थानीय तहलाई विपद् व्यवस्थापन योजना बनाउन भनेका छौँ।” बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन्। –रासस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?