
दार्चुला । व्याँस गाउँपालिका वडा नम्बर १ स्थित छाङरु र तिंकर गाउँका लागि २ सय क्वीन्टल चामल ढुवानी सुरु भएको छ । नेपाल सरकारको ढुवानी अनुदानमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुर्खेतबाट खलंगासम्म सडकमार्ग र खलंगाबाट व्याँससम्म हेलिकोप्टरमार्फत चामल ढुवानी गराउन लागेको हो ।
नीजि वायुसेवा कम्पनी माउन्टेन हेलिकोप्टरले चामल ढुवानीको जिम्मेवारी पाएको छ । सुर्खेतस्थित कम्पनीको गोदामबाट सडकमार्ग हुँदै दार्चुला सदरमुकामसम्म चामल ढुवानी भइसकेको छ । एक ट्रक चामल विहिवार र दोस्रो ट्रक चामल शुक्रवार खलंगा पुर्याइएको छ । छाङरु र तिंकर गाउँमा एक÷एक सय क्वीन्टल चामल ढुवानी गरिदैछ । कम्पनीले टेण्डरमार्फत चामल ढुवानी गराउन लागेको छ । खलंगाबाट व्याससम्म जोड्ने पैदल बाटो सञ्चालनमा नभएकाले हेलिकोप्टरमार्फत ढुवानी गरिन लागेको हो ।
माउन्टेन हेलिकोप्टरको ५ सिट क्षमताको हेलिकोप्टर चामल ढुवानीका लागि शुक्रवार साँझ खलंगा ल्याइएको भएपनि मौसम प्रतिकुल हुदा शनिबारसम्म चामल ढुवानी गर्न सकिएको छैन् । शनिबार विहान एक चोटी हेलिकोप्टर व्याँसका लागि उडेपनि मौसम प्रतिकुल हुदा अवतरण गर्न नसकेर खलंगा फिर्ता आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मौसम अनुकुल भए हेलिकोप्टरले दुई÷तिन दिनमै खलंगाबाट व्यासक्षेत्रमा चामल ढुवानी गरिसक्ने जनाइएको छ ।
हेलिकोप्टरमार्फत २ सय क्वीन्टल चामल ढुवानी गर्न झण्डै ५० लाख रुपैयाँ खर्च हुँदैछ । माउन्टेन हेलिकोप्टरले सुर्खेतबाट खलंगा हुँदै व्यासक्षेत्रसम्म चामल ढुवानीको ठेक्का पाएको छ । प्रति किलोग्राम २ सय ४९ रुपैयाँमा ढुवानी सम्झौता भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । मौसम नखुल्दा हेलिकोप्टर उडन गर्न नसकेको माउन्टेन हेलिकोप्टरका प्रतिनिधि सञ्जीव भण्डारीले बताउनुभयो ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।