
दार्चुला । गत आर्थिक वर्षमा मालिकार्जुन गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोकथाममा गरेको खर्च विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोकथाममा एक करोड २३ लाख ५३ हजार चार सय ४४ रुपैँया खर्च गरेको विवरण सार्वजनिक गरेको छ ।
गाउँपालिका भित्रका सबै वडाहरुमा राहात तथा खाद्यान वितरणमा २३ लाख १६ हजार ७६६ रुपँैया खर्च गरेको छ । आइसोलेसन व्यवस्थापनमा १४ लाख ६४ हजार ६०९, क्वारेन्टाइन व्यवस्थापनमा २४ लाख ४२ हजार ८० रुपैँया खर्च गरेको छ । यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म दार्चुलालाई सीमा सुरक्षा तथा खाद्यान व्यवस्थापन सहयोग स्वरुप दुई लाख ४८ हजार, गाउँपालिकाका सबै वडाका वडा समन्वय समिति व्यवस्थापनमा दुई लाख ८० हजार रुपैँया, बन्दाबन्दीको समयमा नुन तथा अन्य स्वास्थ्य सामग्री ढुवानीमा ६५ हजार ५ सय रुपैँया खर्च गरेको छ ।
गाउँपालिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तीमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारी व्यवस्थापन, समन्वय तथा गाडी भाडा वाफत एक लाख दुई हजार, गाउँपालिका भरिका सबै दिर्घ रोगीहरुलाई औषधी वितरण तथा खरिदमा पाँच लाख ६० हजार छ सय ६८ रुपैया खर्च गरेको छ । गउँपालिका बाहिर रहेका नागरिकलाई गाउँ भित्र्याउन आठ लाख चार हजार ५० रुपँैया र भारतबाट आफ्नै खर्चमा आएर क्वारेन्टाइनमा बसेकाहरुलाई यातायात खर्च बाफत सात लाख १६ हजार रुपैया खर्च भएको छ ।
गाउँपालिकाले स्वस्थ्यसामग्री तथा क्वारेन्टाइनको सामान खरिदमा २४ लाख ९४ हजार ५७१ रुपैया, दैनिक भत्ता तथा प्रोतसाहनमा दुई लाख ४२ हजार र सञ्चार तथा प्रचार प्रसारमा दुई लाख ५३ हजार १८८ रुपैया खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
गाउँपालिकाले विभिन्न समयमा भारत बाट आफ्नै खर्चमा फर्केर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका तीन सय ५८ जनालाई प्रति व्यक्ति २ हजारका दरले यातायात खर्च उपलब्ध गराएको गाउँपालिकाका कोरोना भाईरस रोकथाम तथा नियन्त्रण समितिका फोकल पर्शन तथा सदस्य सचिव किशोर सिंह नगारीले बताउनुभयो ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।