
दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले कोरोना नियन्त्रण, व्यवस्थापन तथा उपचारमा हालसम्म एक करोड ५२ लाख रुपैया बढी बजेट खर्च गरेको विवरण सार्वजनिक गरिएको छ । बुधबार बसेको विपद व्यवस्थापन समितिको बैठकमा विभिन्न १६ शिर्षकमा कोरोना रोकथाम तथा नियन्त्रणमा एक करोड ५२ लाख ७२ हजार चार सय रुपैया खर्च भएको विवरण सार्वजनिक गरिएको हो ।
लेकम गाउँपालिकाले दुई चरणमा राहत खाद्यान्न वितरणमा हालसम्म ४१ लाख ४२ हजार ५९२ रुपैया खर्च गरेको छ । वडा नम्बर २ मा वितरण भएको खाद्यान्नको रकम भुक्तानी गर्न बाकी रहेकोले खर्च रकम अझै केहि बढ्ले देखिएको छ ।
क्वारेन्टाइन व्यवस्थापनमा छ वटै वडाहरुमा गरी ३२ लाख ५२ हजार ४०१ रुपैया र क्वारेन्टाइन सामाग्री खरिदमा ३२ लाख ८२ हजार ८१० रुपैया खर्च भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण दत्त भट्टले बताउनुभयो । काठमान्डौँ, धनगढी र महेन्द्रनगरमा समस्यामा परेका विद्यार्थी तथा लकडाउनको कारण समस्यामा परेका लेकमवासीको उद्धारका लागि नौँ लाख २१ हजार ७७० रुपैया खर्च भएको उहाँले बताउनुभयो ।
यस्तै औषधि तथा अन्य स्वास्थ्य सामाग्री मास्क सेनिटाइजर सहित खरिदको लागि आठ लाख ६६ हजार २२० रुपैया, सूचना, सन्देश प्रसारणमा ८८ हजार ६८० रुपैया, महिला स्वास्थ्य स्वयमसेवीका प्रोत्साहनमा दुई लाख २५ हजार रुपैया, आइसोलेसन सामाग्री खरिदमा दुई लाख ३० हजार रुपैया, छ वटै वडाहरुमा खटिएका स्वयमसेवकहरुको खर्च तीन लाख ५१ हजार रुपैया भएको छ ।
सशस्त्र प्रहरी बल र सुरक्षाकर्मी व्यवस्थापनमा दुई लाख ६१ हजार रुपैया, सोलार मिनिग्रेड मर्मतमा २९ हजार दुई सय रुपैया, तराजु खरिद राहात खाद्यान्न शिर्षकमा एक लाख ३० हजार १७६ रुपैया, यातायात उद्धारमा ८२ हजार दुई सय रुपैया, वडाहरुमा खाद्यान्न वितरणमा चार लाख ८३ हजार ७०१ रुपैया, ढुवानीमा आठ लाख ७५ हजार ६५० रुपैया र विविध शिर्षकमा ५० हजार रुपैया गरी कुल एक करोड ५२ लाख ७२ हजार चार सय रुपैया खर्च गरिएको लेकम गाउँपालिकाका सूचना प्रविधि अधिकृत तर्कराज बिष्टले बताउनुभयो ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीहरुकाे जाेखिम तथा प्राेत्साहन भत्ता, विद्यार्थीहरुकाे राहत र वडा नम्बर २ लगायत केहि क्वारेन्टाइनहरुकाे खर्च रकम भुक्तानी गर्न बाकी रहेकाेले हालसम्मकाे काेराेना राेकथाम तथा नियन्त्रणमा भएकाे खर्च दुइ कराेड नाघ्ने अनुमान गरिएकाे छ ।