दार्चुला । दार्चुला सदरमुकाम खलंगामा सशस्त्र प्रहरीको गण बस्ने भएको छ । व्याँस गाउँपालिका—छाङरुमा रहेको वीओपीमा गुल्म राख्ने गरी सांगठनिक संरचना स्वीकृति भएसंगै खलंगा गुल्मलाई गणमा स्तरोन्नती गरिएको छ ।

दार्चुला जिल्लाभरीको कार्यक्षेत्र हेर्ने गरी खलंगामा ४४ नम्बर गण राखिने भएको छ । खलंगास्थित गणमा गणपतिको जिम्मेवारीसहित सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र बमलाई दार्चुला पठाउने तयारी छ । अहिले सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालीम शिक्षालय ककनी नुवाकोटमा कार्यरत बमलाई पुर्ती हुन बाकी सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुला पठाउने तयारी छ ।

खलंगामा गण बस्ने निश्चित भएपछि हाल खलंगामा रहेको ५० नम्बर गुल्मलाई छाङरुमा सारिनेछ । गणको नेतृत्व सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र गुल्मको नेतृत्व सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी)ले गर्नेछन् । गण र गुल्मको मातहतमा सीमाक्षेत्रमा बीओपीहरु सञ्चालन हुनेछन् ।
हाल व्याँस गाउँपालिका को वडा नम्बर १ छाङरु, वडा नम्बर २ दुम्लिङ, मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ जोलजिवी र लेकम गाउँपालिकाको वडा नम्बर ३ लालीमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको छ ।

व्याँसको छियालेक र मालिकार्जुनको जोलजिवीमा बीओपीको भवन निर्माणका लागि टेण्डर खोलिएको छ । सशस्त्र प्रहरीले महाकाली नगरपालिकाको वडा नम्बर ९ दत्तु र व्यास गाउँपालिकाको केन्द्र सुन्सेरामा पनि बीओपी स्थापनाका लागि सिफरिस गरिएको छ । व्याँसको छाङरुमा गुल्म स्थापना भएपछि चीनिया सीमा क्षेत्रको तिंकर र कालापानी नजिकको कौवाक्षेत्रमा बीओपी थप्ने सरकारको तयारी छ ।

खलंगामा गण र छाङरुमा गुल्मको स्थापनापछि सिमा सुरक्षाका साथै आन्तरिक सुरक्षा व्यवस्थापनमा थप सहजता आउने विस्वास गरिएको छ । सशस्त्र प्रहरीको गणमा ६ सय २१ जना र गुल्ममा १ सय ६० जनशक्ति रहने व्यवस्था छ । गणमा एसपीको कमाण्डमा ५ डिएसपी, १४ जना इन्सपेक्टरको दरबन्दी रहन्छ ।

सशस्त्र प्रहरीको नयाँ संरचनाअनुसार देशभरी ४४ गण र २७ गुल्म रहनेछन् । ८ बाहिनी र १२ शिक्षालय (तालिम केन्द्र) को संरचना स्वीकृत भएको छ । हालसम्म शसस्त्र प्रहरीका ५ वटा मात्रै तालिम केन्द्र थिए । नयाँ संरचनाअनुसार ७ तालिम केन्द्र थपिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा दुइ गण थपिएका छन् । कैलालीको वनभेडा र दार्चुलाको खलंगामा गणको संरचना स्वीकृत भएको हो । कैलालीको अत्तरियामा बाहिनी छ भने धनगढी, कञ्चनपुरको झलारी र डोटीमा गण रहेको छ । । सुदूरपश्चिममा गणको संख्या ५ र गुल्मको संख्या ७ रहनेछ ।

बाजुरा र बझाङ जिल्लामा आश्रित गुल्म रहनेछ । प्रत्येक जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति हुने गरी नयाँ संरचना स्वीकृत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?