दार्चुला । महाकाली नगरपालिका वडा नम्बर २ बडालीगाउँमा पहिरो जादा नौगाड गाउँपालिका वडा नम्बर २ तल्लो सुण्डमुण्डका छ वर्षीय बालक बेपत्ता भएका छन् । शुक्रबार बेलुकीेदेखि बेपत्ता बालकको खोजिकार्य जारी रहेपनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले मिलेर शुक्रबार बेलुकी देखि नै खोज कार्य गरिरहेको भएपनि अहिलेसम्म बेपत्ता बालकको अवस्थाबारे केहि जानकारी पाइएको छैन् । शुक्रबार अबेर रातीसम्म खोजि गर्दा समेत फेला नपरेपछि शनिबार बिहानैदेखि खोजि कार्यलाई निरन्तरता दिइएको छ ।
घरबाट दार्चुला सदरमुकाम खलंगा आउदै गरेका धन बहादुर ठगुन्नाका छ वर्षीय छोरा जेनिस ठगुन्ना पहिरोमा परेर बेपत्ता भएका हुन् । पहिरो आउदा खुट्टामा चोट लागेका नौगाड गाउँपालिकाकै संगिता ठगुन्नाको भने जिल्ला अस्पताल दार्चुलामा उपचार गरिएको छ ।
जेनिस संगै रहेका नौगाड गाउँपालिकाकै बिमल ठगुन्ना, हरक ठगुन्ना र डम्बर बोहरा भने सकुसल रहेको घटनास्थलबाट गजेन्द्र ठगुन्नाले लोकदर्पण टीभी डटकमलाई जानकारी दिनुभयो ।
शुक्रबार दिउँसो ४ बजेतिर पहिरो आएर घटना भएको स्थानीयले बताएका छन् । स्थानीय र प्रहरीले बेपत्ता बालकको खोजि गरिरहेका छन् ।
दार्चुला जिल्लामा मनसुन सुरु भएदेखि छ जनाले ज्यान गुमाउनुका साथै एक बालक बेपत्ता भएका छन् । बाढी, पहिरोको घटनाले छ जना घाइते भएको प्रहरीले जनाएको छ ।
तस्बिर साैजन्य : प्रकाश भट्ट