दार्चुला । शुक्रबार बेलुकी घरबाट दार्चुला सदरमुकाम खलंगा आउदै गर्दा पहिरोमा परेर बेपत्ता भएका नाैगाड गाउँपालिकाका एक जना बालक मृत अवस्थामा फेला परेका छन् ।
दार्चुलाको महाकाली नगरपालिका—२ बडालीगाउँमा सुख्खा पहिरो जादा बेपत्ता भएका नौगाड गाउँपालिका—२ तल्लो सुण्डमुण्डका धन बहादुर ठगुन्नाका छ वर्षीय छोरा जेनिस ठगुन्नाकाे सव लास्कुगाड खाेला किनारामा फेला परेकाे छ ।
लास्कुगाड खाेलाले बगाएकाे अवस्थामा पहिराे गएकाे स्थानभन्दा झण्डै दुइ किलाेमिटर तल बालककाे सव फेला परेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।
शुक्रबारदेखि बेपत्ता बालककाे मृत्यु भएसंगै दार्चुलामा पछिल्लाे एक महिनाकाे अवधिमा पहिराेमा परि ज्यान गुमाउनेकाे संख्या सात पुगेकाे छ ।
मृतक ठगुन्ना दार्चुलाको अमटिकर पब्लिक स्कुलमा एलकेजीमा अद्ययनरत विद्यार्थी हुन् ।
दार्चुला जिल्लामा मनसुन सुरु भएदेखि बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका विपद्का १२ घटना भएका छन् । ती घटनामा दुई पुरुष, तीन महिला, एक बालक र एक बालिकाको मृत्यु भएको छ ।
दुई पुरुष, दुई महिला र दुई जना बालिका गरी छ जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार बाढी र पहिरोका घटनामा दार्चुलामा आठ घरमा पूर्णरूपमा क्षति पुगेको छ । पहिरोबाट जिल्लामा नौ परिवार विस्थापित भएका छन् । नौँ वटै स्थानीय तहका दर्जनौ परिवार बाढी, पहिरोको उच्च जोखिममा रहेका छन् ।
नौगाड गाउँपालिकाका मात्रै पाँच जनाले ज्यान गुमाउनुका साथै करोडौको भौतिक क्षति भएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो ।
नौगाड गाउँपालिकामा असार र साउन महिनामा आएको बाढी र पहिरोले ३ करोड ८५ लाख ६५ हजार बराबरको क्षति गरेको प्रारम्भिक तथ्याङक छ ।