दार्चुला । भारतको पिथौरागढ जिल्लाको धारचुला नजिकै रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । साउन १५ गते धौलीगंगाको बाँधका ढोकाहरु खोलिने जानकारी प्राप्त भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवँरले बताउनुभयो ।

धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट फ्लसिङको कार्यका लागि जलविद्युत्को बाँधका ढोकाहरु खोल्नेबारे भारतीय प्रशासनले पत्राचार गरेपछि नेपाली प्रसाशनले सबैलाई सुचित गरेको छ । साउन १५ गते राति १२ बजेदेखि साउन १६ गते बेलुकी पोने ७ बजेसम्म बाँधका ढोकाहरु खोलिने भएकाले नदी तटीय क्षेत्रका नागरिकहरुलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

व्याँस गाउँपालिका वडा नम्बर ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मको महाकाली नदी तटीय क्षेत्रका नागरिकहरुलाई पूर्व सतर्कता अपनाउन सबैलाई सूचित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुवँरले बताउनु भयो । यसअघि पनि सिल्ट फ्लसिङ कार्यका लागि भन्दै भारतीय पक्षले उक्त जलविद्युत्का बाँधका ढोकाहरु खोलेको थियो ।

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित २८० मेगावाट क्षमताको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलेपछि महाकालीमा जलस्तर बढ्ने गर्दछ । धौलीगंगा बाधँबाट दार्चुलासम्म पानी पुग्न ३ घन्टा बढी समय लाग्ने गरेको छ ।

यसअघि वि स २०७० सालमा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौको क्षती गरेको थियो । दार्चुला सदरमुकाममा पक्कि बाधँ निमार्ण भएकोले धेरै जोखीम नभएपनि नदी तटिय क्षेत्रमा जादा होसियारी अपनाउँन प्रहरीले आग्रह गरेको छ ।

पछिल्लो समय धौलीगंगा परियोजनाको बाँध खोलिनेबारे भारतीय प्रशासनले पुर्व सुचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यसैबिच निरन्तरको वर्षापछि महाकालीमा पानीको सतह बढ्न थालेको छ । सोमबार राती खलंगाभन्दा माथिल्लो क्षेत्रमा भारी वर्षा भएकोले मंगलबार बिहान महाकालीको जलस्तर पाँच मिटर ६० सेन्टिमिटर अर्थात खतराको चिन्ह नजिक पुगेको थियो । मंगलबार दिउँसो वर्षा रोकिएपछि विस्तारै जलस्तर घट्न थालेको छ ।

मंगलबार दिउँसो महाकालीको जलस्तर चार मिटर ७० सेन्टिमिटर मापन गरिएको महाकाली नगरपालिका–९ दत्तुका अवलोकनकर्ता कृष्णसिंह नगारीेले जानकारी दिनुभयो । उहाँका अनुसार नदीको सतह पाँच मिटर ८० सेन्टिमिटर नाघेको खतराको सतहमा पुगेको मानिन्छ ।

अत्याधिक वर्षा भएको समय र धौलिगंगा बाँध खोलेको दिन महाकालीको जलस्तर खतराको सतह नजिक पुग्ने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्रकै नेतृत्वमा सञ्चालक समिति चयन

२०८१ फाल्गुन १, बिहीबार १७:४०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?