
दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका–३, ब्रह्मदेब सल्लीमा पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यु भएको छ । मंगलबार बिहान पाँच बजे घर माथिबाट पहिरो खस्दा घरभित्र रहेका ५० वर्षीय रामदत्त जोशी र उहाँकी ४५ वर्षीया श्रीमती इन्द्रा जोशी पुरिएर बेपत्ता हुनुभएको थियो । बिहानदेखि स्थानीय र प्रहरीले खोजि गरेपनि दिउँसो तीन बजेतिर दुबैजना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मृतक जोशीका छोरा २१ वर्षीय सुनिल जोशी भागेर ज्यान बचाउन सफल भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले बताउनुभयो । पहिरो जाँदा जाँदै छोरा भाग्न सफल भएपनि बुबाआमा समयमै निस्किन नसकेर जोगिन नसकेको प्रहरीले जनाएको छ । राती सुतेको बेला घर माथिबाट पहिरो खस्दा घर नै पुरिएको छ । गोठमा रहेका एक भैँसी र चार वटा बाख्रा समेत पहिरोले पुरिएका छन् ।
यो वर्ष मनसुन सुरु भएपछि दार्चुलाको नौगाड गाउँपालिकाका पाँच जना र मालिकार्जुन पस्तीमा गएको पहिरोमा लेकम गाउँपालिकाका दुई जनाले ज्यान गुमाएका थिए ।
एक महिनामा पहिरोमा परी दार्चुला जिल्लाभरीमा नौँ जनाले अकालमै ज्यान गुमाउनुपरेको छ ।
बाढी र पहिरोबाट एक महिनामा दर्जनौ जनावर र करोडौँको भौतिक सम्पत्ती समेत क्षती भएको छ। पहिरोले नौगाड गाउँपालिकामा सबैभन्दा बढी क्षती पुर्याएको छ । दार्चुलाका सबै स्थानीय तह बाढी पहिरोको उच्च जोखिममा रहेकोले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैलाई अनुरोध गरेको छ ।