दार्चुला । परम्परा देखी नै नेपाली समाजमा साउन १५ गते खीर खानुपर्छ भन्ने मान्यता रहेको छ । साउन १५ लाई खीर खाने दिनको रुपमा चिनिन्छ ।
कृषकहरुले यो महिना धान रोपेर खेतबारीको काम सकेपछी खुसीयालीस्वरुप खीर खाने परम्परा रहेको छ । यो महिना बर्षातको समय भएकोले शरीरमा विभिन्न रोगहरुलाग्ने र खीरमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकोले खीर खाने गरेको पाईन्छ ।
खीर दुध, चामल, नरिवल, चिनी लगायतका अन्य परिकारहरु हालेर पकाउने गरिन्छ । उसो त खीर खाने चलन परापुर्व काल देखी नै चलिआएको भन्ने मान्यता रहेको छ । प्राचीन कालमा भगवान कृष्णले थकित कृषक र दुखिहरुलाई खीर खुवाएको दिनको सम्झनामा आजको दिनलाई खीर खाने दिनको रुपमा लिने गरिएको भन्ने मान्यता पनि नेपाली समाजमा रहेको पाईन्छ ।
साउनमा खीर खानुकोे वैज्ञानिक महत्व पनि रहेको डाक्टरहरु बताउँछन्। डाक्टरहरुका अनुसार गर्मीको समयमा शरीरमा दाद, खटिरा, र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि खीर खानु उपयुक्त हुन्छ ।