दार्चुला । दार्चुलामा यो बर्ष रोपाई सम्पन्न भएको छ । जिल्लाभरीमा चार हजार चार सय ८० हेक्टर जमिनमा धानखेती हुने गरेकोमा हालसम्म चार हजार तीन सय ९० हेक्टर अर्थात ९८ प्रतिषत जमिनमा रोपाई सम्पन्न भइसकेको हो ।
रोपाई हुने सबै क्षेत्रमा धान रोप्ने काम सकिएकोले यो वर्ष जिल्लाभरी रोपाई सकिएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश कुमार पन्तले बताउनुभयो । दार्चुलामा यो वर्ष १६ हजार दुई सय ४४ मेट्रिक टन धान उत्पादन हुने प्रक्षेपण गरिएको छ । समयमै पानी परेर जिल्लाभरी रोपाई सम्पन्न भइसकेकोले मौसम अनुकुल भए यो वर्ष विगत वर्षहरुको भन्दा राम्रो धान उत्पादन हुने अनुमान गरिएको उहाँको भनाइ छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाको अधिकासं भूभाग तथा मार्मा, नौगाड, दुहुँ, व्याँस गाउँपालिकामा केहि भूभागमा धान खेती गरिदै आएको छ । गोकुलेश्वर, लाली, उकु, बाकु, धाप, दत्तु लगायत क्षेत्रमा धानखेती राम्रो फष्टाउने गरेको छ । अपिहिमाल गाउँपालिकामा भने चिसो हावापानी भएकोले धान उत्पादन नहुने गरेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।
दार्चुलामा २९ हजार पाँच सय ४४ हेक्टर खेतीयोग्य जमिनमध्ये २२ हजार आठ सय २५ हेक्टर अर्थात ७७ प्रतिषत जमिनमा मात्रै खेती गरिदै आएको छ । खेतीयोग्य जमिनको २३ प्रतिषत जमिन अझैपनि बाँझो रहेको उहाँले बताउनुभयो ।
खेतीयोग्य जमिनको पाँच हजार पाँच सय ३० हेक्टर जमिनमा मकैखेती गरिदै आएको छ । दार्चुलाको प्रमुख खाद्यबालीको रुपमा रहेको मकैबालीमा शुरुमा फौजि किरा र फेद कटुवा किराको प्रकोप देखापरेको र पछिल्लो समय विभिन्न क्षेत्रमा हावाहुरी, बदेल, दुम्सी र बादरले मकैबाली खाएर नष्ट गर्ने गरेको किसानहरुले गुनासो गर्ने गरेका छन् ।
तर जिल्लाको अधिकासं क्षेत्रमा मकैबाली राम्रै फस्टाएर बाक्ने बेला भइसकेकोले मकै उत्पादनमा धेरै कमी नआउने कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । यो वर्ष १५ हजार छ सय ८९ मेट्रिक टन मकै उत्पादन हुने कृषि ज्ञान केन्द्र दार्चुलाको प्रक्षेपण छ ।