कैलाली । कैलालीमा बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जानकी गाउँपालिका–२ का ५४ वर्षीय कोबी सुनार, भजनी नगरपालिका–८ का सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक बेपत्ता भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिनुभयाे ।

प्रहरी उपरीक्षक जबराका अनुसार काडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा उनीहरुलाई बगाएको हो ।‘बुधबार अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेको थियो । बस्तीमा पसेको बाढीबाट सुरक्षित स्थानमा जान खोज्दा उनीहरु बेपत्ता भएका हुन,’ प्रहरी उपरीक्षक जबराले भन्नुभयाे, ‘उनीहरुको खोजी कार्य जारी छ ।

’७ जना बेपत्ता भएका मध्ये तीन जनाको भने बुधबार नै सकुशल उद्धार गरिएको उहाँले बताउनुभयाे । बेपत्ता रहेका चार जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा खोजी कार्य भइरहेको उहाँले बताउनुभयाे ।

६ हजार बढी घर डुबानमा

अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा ६ हजार भन्दा बढी घर डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार ६ हजार ३२० घर डुबानमा परेको छ ।

जोशीपुरमा २ हजार ३१५, भजनी नगरपालिकामा २ हजार १८०, टिकपुरमा नगरपालिकामा ८२५ र जानकी गाउँपालिकामा १ हजार घर डुबानमा परेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जानकारी दिनुभयाे ।

‘अहिले पनि उद्धार कार्य जारी छ,’ उहाँले भन्नुभयाे, ‘डुबानका कारण विस्थापित भएकाहरु सडक तथा विद्यालयमा बसेका छन् ।’ पानीको बहाव घट्दो क्रममा रहेकाले केही व्यक्तिहरू भने घर फर्किसकेको उहाँले बताउनुभयाे ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?