दार्चुला । सुदूरपश्चिममा आज एक सय ६८ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, धुलिखेल अस्पताल र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज एक सय ६८ जनामा संक्रमण पुष्टि भएको हो।

तीन वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ६६ जना, बझाङका ५१ जना, अछामका २८ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा बझाङका ४३ जना, अछामका २८ जना, कैलालीका नौँ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयाे।

धुलिखेल अस्पतालमा भएको परीक्षणमा कैलालीका थप २७ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयाे। यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ३० र बझाङका २३ गरी ५३ जनामा संक्रमण पुष्टि भएको छ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका २७ र भजनी नगरपालिकाका तीन गरी ३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयाे।

बझाङको थलारा गाउँपालिकाका १० जना, जयपृथ्वी नगरपालिकाका पाँच जना, दुर्गाथली र छव्वीसपाथिभेराका तीन÷तीन जना र मष्टा गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयाे ।

आईतवार एक सय ६८ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ६ सय ९२ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय २८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ७०, अछाममा सात सय ६, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरका पाँच सय ५२, डडेल्धुराका तीन सय नौ, बैतडीका तीन सय १९, बझाङका दुई सय ७५ र दार्चुलाका ४२ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका तीन हजार १० जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ। ५३ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी संक्रमित आफ्नै घर र स्थानीय तहको आईसोलेसनमा रहेका छन्।

यसैबिच नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप तीन सय १५ जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या २० हजार ८६ पुगेको हो । पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको परीक्षण भएको छ ।

जम्मा सङ्क्रमितमध्ये १४ हजार ४ सय ९२ जना निको भएर डिस्चार्ज भइसकेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ३८ मात्रै रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९३ जना डिस्चार्ज भएका छन् ।

अहिले प्रदेश एकमा दुई सय २५ जना, प्रदेश दुईमा दुई हजार ६६ जना, वागमतीमा पाँच सय ७५ जना, गण्डकीमा तीन सय १३ जना, प्रदेश पाँचमा तीन सय ८७ जना, कर्णालीमा दुई सय ९७ जना र सुदूरपश्चिममा एक हजार ६ सय ७५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले कुल सङ्क्रमितको ७२ दशमलव १ प्रतिशत व्यक्ति निको भएको जनाएको छ । हाल देशभर ११ हजार पाँच सय ३३ जना व्यक्ति क्वरेण्टीनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौँः नगरप्रमुख नरसिंह चैसीर (अन्तरवार्ता)

२०८० माघ २४, बुधबार १२:३६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?