दार्चुला । सुदूरपश्चिम प्रदेशमा आईतवार ४८ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा आज ४८ जनामा कोरोना पुष्टि भएको हो।
चार वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३२, डोटीका १२, बझाङका दुई, दार्चुला र बैतडीका एक/एक जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका ११, कैलालीका १० र बझाङका दुई जनामा संक्रमण पुष्टि भएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको परीक्षण्मा दार्चुृलाका एक जना र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा डोटीका एक जनामा पनि कोरोना पुष्टि भएको प्रवत्ता गौतमले बताउनुभयाे ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३८ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका २२ र बैतडीका एक गरी २३ जनामा संक्रमण पुष्टि भएको छ।
बैतडीको पाटनका २६ बर्षीय युवकमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
आईतवार ४८ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार सात सय ४० पुगेको छ।
अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय ६० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ८२, अछाममा सात सय ६, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।कञ्चनपुरका पाँच सय ५२, डडेल्धुराका तीन सय नौ, बैतडीका तीन सय २०, बझाङका दुई सय ७७ र दार्चुलाका ४३ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि भएका तीन हजार ४६ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।
दैनिक संक्रमण बढेपछि सुदूरपश्चिम देशभरीमा सबैभन्दा बढि संक्रमित रहेको दोस्रो प्रदेश बनेको छ। सुदूरपश्चिम प्रदेश भन्दा बढि संक्रमित प्रदेश नम्वर २ मा रहेका छन्।
२४ घण्टामा २४६ जनामा काेराेनाकाे सङ्क्रमण
गएको २४ घण्टामा नेपालमा थप दुई सय ४६ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको छ ।आठ हजार आठ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै सङ्क्रमित हुनेको कुल सङ्ख्या २० हजार तीन सय ३२ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा एक सय ११ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या १४ हजार ६ सय तीन पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
अब पाँच हजार तीन सय ६२ जना सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेका छन् । यस्तै १० हजार नौ सय ३४ जना क्वरेण्टीनमा रहेका छन् । अहिलेसम्म काेराेनाबाट ५६ जनाले नेपालमा ज्यान गुमाएका छन् ।