
दार्चुला । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा बढी संबेदनसिल र जिम्मेवार हुनुपर्ने दार्चुलाको प्रहरी—प्रशासनको भूमिका फितलो देखिएको गुनासो बढ्न थालेको छ ।
भारतीय सीमावर्ती बजार धारचुलामा कोरोना संक्रमण दर बढीरहेका बेला सोमबार समेत नेपाल–भारत जोड्ने खलंगास्थित झोलुगें पुल खोलिएको छ । दाहसंस्कारमा सहभागि हुन मृतकको आफन्तहरुलाई भारत जान दिनका लागि सीमा पूल खोलिएको भनिएपनि स्थानीयहरुले समेत आवतजावत गरेको प्रतक्ष्यदर्शीहरुले बताएका छन् ।
पत्रकार भोजराज जोशीका अनुसार ३२ जना नेपाल भित्रिएको र २० जना भारत गएको गरि कम्तीमा ५२ जनाले खलंगा पुलघाटमा आवतजावत गरेका छन् । भारतबाट आएकाहरुलाई सदरमुकाम खलंगास्थित खुलामंचमा राखिएको छ । स्थानीय व्यापारीहरुसंगकाे मिलेमताेमा सुरक्षा कडाइ नगरिएकाे स्थानीयकाे आराेप छ ।
दुँहु गाउँपालिका—४ का परमानन्द भट्टको भारत डिडिहाटस्थित माइती घरमै निधन भएकाले दाहासंस्कार गर्न जाने मृतकका आफन्तका लागि खलंगा सीमा नाका खोलिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
आइतबार मृतकका आफन्तले दाहासंस्कारका लागि सीमा नाका खोलिदिन जिल्ला प्रशासन कार्यालयलाई निबेदन दिएपछि भारतीय प्रशासनसंगको समन्वयमा सोमबार खलंगा सीमापुल खोलिएको दार्चुला प्रशासनले बताएको छ ।
सीमित व्याक्तिहरुको आवतजावतका लागि सीमा पुल खोलिएको भएपनि प्रहरी—प्रशासनले कडाइ नगर्दा स्थानीयले समेत आवतजावत गरेपछि पुल क्षेत्रमा भीडभाड बढेको थियाे ।
दर्जनौँ भारतीय सुरक्षाकर्मी (एसएसबी) मा कोरोना संक्रमण देखिएको अवस्थामा नेपालीहरुले सीमावर्ती क्षेत्रमा आवतजावत गर्दा कोरोना संक्रमणको उच्च जोखिम हुने भएकोले प्रहरी प्रशासनले संबेदन हुनुपर्ने स्थानीयको माग छ ।
जनताले आफै सचेत हुने र सचेतना नअपनाउने जनतालाई प्रहरी प्रशासनले नियन्त्रणमा राख्नसक्ने क्षमता नहुने हो कोरोना संक्रमणको जोखिम उच्च हुने स्थानीय भाेजराज जाेशीले बताउनुभयाे ।
अत्यावश्यक कामका लागि भनेर खोलिएको पुलबाट सीमा पार गर्दैगर्दा लागुऔषध ओसारपसारमा संलग्न एक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।