दार्चुला । सोमबार ६६ जनामा कोरोना भाइरस (कोभिड-१०)को संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा एक साताभित्रै ५५५ जना संक्रमित थपिएका छन् ।
सोमबार सेती प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा २० जना, भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दुईजना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भएको परीक्षणमा ४४ जना संक्रमित देखिएका हुन । यससँगै यस प्रदेशमा संक्रमितको संख्या चार हजार ६५८ पुगेको छ ।
सोमबार नयाँ संक्रमितहरुमा सबैभन्दा बढी कैलालीका रहेका छन् । यस जिल्लामा २४ महिला र २२ पुरुष गरी ४६ जना भेटिएका छन् । यस्तै कञ्चनपुर जिल्लाका १४ पुरुष र एक महिला गरी १५ जना रहेका छन् । बझाङ्गका एक पुरुष र अछामका दुई महिला र दुई पुरुषमा पनि सोमबार कोरोनाको संक्रमण पुष्टि भएको छ ।
साउन १२ गतेसाँझसम्मको तथ्याङ्कअनुसार यस प्रदेशमा संक्रमितको जम्मा संख्या चार हजार १०३ रहेको थियो । सोमबार साँझ (साउन १९ गते) सम्म उक्त संख्या चार हजार ६५८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जानकारी दिएको छ ।
एक सातामा कैलाली र डोटीमा तीन अंकले संक्रमितहरु थपिएका छन् । कैलालीमा एक सय ९७ जना नयाँ संक्रमित थपिएका छन् । साउन १२ गते यस जिल्लामा कुल संक्रमितको संख्या एक हजार ७५ रहेकोमा सोमबार एक हजार २७२ पुगेको छ ।यस्तै डोटीमा एक सातामा १२५ नयाँ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार एक साताअघि डोटीमा कुल संक्रमितको संख्या ६०५ रहेकोमा सोमबार ७३० पुगेको छ ।
कैलालीपछि सबैभन्दा बढी संक्रमित भएको जिल्ला डोटी हो ।एक साताको अवधिमा बझाङ्गमा ९८ जना थपिएका छन् । साउन १२ गतेसम्म यस जिल्लामा १७१ संक्रमित रहेकामा हाल २६९ जना पुगेका छन् । कञ्चनपुरमा यो अवधिमा ६८ जना संक्रमित थपिएर जिल्लाको कुल संक्रमितहरुको संख्या ५८१ पुगेको छ । अछाममा गत सातासम्म ६६७ संक्रमित रहेकामा यो साता ३२ जना थप भएका भई संक्रमितको संख्या ६९९ पुगेको छ ।
दार्चुलामा साताभरीमा १७ जना संक्रमित थपिएसँगै यस जिल्लामा कुल संक्रमितको संख्या ४३ पुगेको छ । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम संक्रमित रहेको जिल्ला दार्चुला हो ।
बैतडीमा गत सातासम्म संक्रमितको संख्या ३०७ रहेकोमा यो साता १२ जना थप भई संक्रमितको कुल संख्या ३१९ पुगेको छ । डडेल्धुरामा यो सातामा ६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै डडेल्धुराको संक्रमितको संख्या ३०१ पुगेको छ ।
यस साता बाजुरामा भने नयाँ संक्रमित थपिएका छैनन् । यस जिल्लामा कुल संक्रमितको संख्या ४४९ रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा आरटी पीसीआर परीक्षणका लागि एक सातामा दुई हजार ९४८ जनाको थ्रोट स्वाव नमुना संकलन भएको छ ।