दार्चुला । बैतडीको मेलौली नगरपालिकामा तीन जना स्थानीय युवा आमरण अनशन बसेका छन्। मेलौली नगरपालिका–२ को काम कारवाही एकलौटी भएको भन्दै ५ बुँदे मागसहित स्थानीय विवेकानन्द पाण्डेय, योगेश चन्द र नारदप्रसाद भट्ट सलेनास्थित प्रहरी चौकी नजिक अनशन बसेका हुन्।

वडाले जनताको चाहना विपरीत विभिन्न गतिविधि गरेको, वडाअध्यक्षले मनपरी गर्नुका साथै कसैलाई काखा कसैलाई पाखा गरेको उनीहरुको आरोप छ। वडाअध्यक्षको गलत अभिव्यक्ति, विद्युत प्रसारणमा लापरबाही, अनियमितता र योजनाहरुको स्थलगत सार्वजनिक सुनुवाइ, वास्तविक आवश्यकताको आधारमा कुनैपनि योजना छनौट नभएको र योजनाको गुणस्तर अनुगमन हुनुपर्ने भन्दै उनीहरुका ५ वटा माग रहेका छन्।

यसअघि पनि सो वडामा विद्युत बिस्तारको माग गर्दै साउन १४ गते वडा कार्यालयमा तालाबन्दी गरिएको थियो। सोमबार लगाएको ताला बिना जानकारी नै प्रहरीको रहोवरमा वडाअध्यक्षले तोडेको अनशन बसेका नारदप्रसाद भट्टले बताउनुभयाे । वडाअध्यक्षले ‘बाउको छोरो होस् भने फेरी ताला लगाएर देखा’ भनेर अपशब्द भाषा प्रयोग गर्दै गाली गलौचसहित धम्की दिएकोले अनशन बसेको भट्टको भनाइ छ।

वडामा विद्युत बिस्तारलगायत अन्य माग पटक–पटक राख्दा वडाअध्यक्षले कुनै वास्ता नगरेको उनीहरूको गुनासो छ। आफूहरूले राखेको माग सम्बोधन नभएसम्म अनशन जारी राख्ने उनीहरुले बताउनुभयाे ।

यसअघि बैतडीको मेलौली नगरपालिका वडा नं २ मा वडाअध्यक्ष र प्रहरीले ताला तोडेपछि तनाव उत्पन्न भएको थियाे । हिजो साँझ वडा अध्यक्ष महेन्द्र बहादुर चन्दले प्रहरी प्रसासन बोलाएर ताला तोडेको भन्दै स्थानियहरुले राती नाराबाजी गर्दै वडाअध्यक्ष माथी हातपातको प्रयास गर्नखोजेपछि तनाव उत्पन्न भएको हो ।

सेवाग्राहीहरुलाई समस्यामा नपार्ने गरी कार्यसञ्चालन गनुपर्ने भएको हुनाले प्रहरी प्रसासनको रहोबरमा वडा कार्यालयको ताला खोलिएको वडा अध्यक्ष महेन्द्र बहादुर चन्दले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?