दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले स्थानीय तह अनुसार फरक–फरक बार सेवा सञ्चालन गर्ने भएको छ । कार्यालयमा सेवाग्राहीको अत्याधिक भिडभाड बढेको भन्दै कोरोना भाइरसको सम्भाबित जोखिमलाई न्यूनिकरण गर्न जिल्ला प्रशासन कार्यालयले दार्चुलाका ९ वटै स्थानीय तहका नागरिकहरुलाई साउन २५ गते आइतबार बाट लागु हुनेगरि फरक–फरक दिन सेवा दिने जानकारी गराएको छ ।
दार्चुला प्रशासनद्धारा जारी सूचना अनुसार, आइतबार र सोमबार महाकाली नगरपालिका, व्याँस गाउँपालिका र दुँहु गाउँपालिकाका नागरिकलाई जिल्ला प्रशासन कार्यालय दार्चुलाले सेवा प्रदान गर्नेछ । मंगलबार र बुधबार शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाका नागरिकले सेवा पाउनेछन् । भने विहिबार र शुक्रबार अपि हिमाल गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाका नागरिकहरुले सेवा पाउने भएका छन् ।
प्रशासन कार्यालयले सेवाग्राहीहरुलाई सेवा लिन आउदा स्वास्थ्य सुरक्षाका आधारभुत मापदण्डको अनिवार्य पालन गर्न अनुरोध गरेको छ । कोरोना संक्रमणको जोखिम रहेकाले सेवा लिन आउदा साबुन पानीले हात धुनुपर्ने, अनिवार्य मास्क लगाएको हुनुपर्ने र कम्तीमा दुई मिटरको भौतिक दुरि कायम गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । सेवा प्रवाहका लागि सम्पर्क ब्यक्ति समेत तोकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
हेर्नुहाेस जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक गरेकाे सूचना