
वैशाखदेखि विद्यालय तहमा नयाँ शैक्षिकसत्र सुरु हुनुपर्ने हो । कोरोना भाइरस (कोभिड–१९) का कारण शैक्षिकसत्र सुरु भएको छैन । एक शैक्षिकसत्रमा २ सय २० दिन विद्यालय खोल्नैपर्छ भने १ सय ८० दिन पढाउनुपर्ने हुन्छ । शैक्षिकसत्रको समय ४ महिना पछि धकेलिएकाले अब पूरा गर्न कठिन हुने शिक्षाका सरोकारवाला व्यक्तिहरू बताउँछन् ।
विद्यार्थी भर्ना अन्योल
गत चैतदेखि बन्द रहेको पठनपाठन सुरु हुन सकेको छैन । विद्यालय तहमा १ भदौदेखि विद्यार्थी भर्ना गर्ने भनिए पनि संक्रमितको सङ्ख्या बढेपछि के गर्ने भन्नेमा अन्योल छ । सीसीएमसीले १ भदौदेखि विद्यार्थी भर्ना नगर्ने प्रस्ताव गरेको छ । योसँगै विद्यार्थी भर्ना पनि रोकिने भएको छ । कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा ५ चैतअगाडि नै सकियो । नतिजा सार्वजनिक भएसँगै माथिल्लो कक्षामा जाने तयारीमा रहेका ७५ लाख बालबालिका अहिले विद्यालयबाहिर छन् ।
प्रभावहीन वैकल्पिक शिक्षण सिकाइ
१ असारदेखि सरकारले वैकल्पिक शिक्षण सिकाइ सुरु गर्यो । तर, वैकल्पिक शिक्षण सिकाइमा सबै विद्यार्थी जोडिएका छैनन् । निजी विद्यालयको वैकल्पिक शिक्षण सिकाइ केही प्रभावकारी देखिए पनि लकडाउन भएसँगै विद्यार्थी र अभिभावक उपत्यकाभन्दा बाहिर गएकाले ती विद्यार्थी अनलाइन कक्षामा जोडिएका छैनन् ।
रेडियो, टेलिभिजन र अनलाइनबाट सिकाइलाई निरन्तरता दिए पनि विद्यार्थीको पहुँचमा पुग्न सकेको छैन । कति विद्यार्थी वैकल्पिक शिक्षण सिकाइमा जोडिए भन्ने तथ्यांक सरकारी निकायसँग छैन ।
एसईईको नतिजा पनि धकेलियो
माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा अन्तिम समयमा स्थगित भयो । ६ चैतका लागि तोकिएको परीक्षा ५ गते बेलुका सरकारले स्थगित गर्यो । कोरोनाका कारण परीक्षा हुन नसकेपछि विद्यालयको मूल्याङ्कनलाई आधार मानेर राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्दै छ । नतिजा २० साउनभित्र गर्ने तयारी गरे पनि कोरोना संक्रमितको सङ्ख्या बढेपछि नतिजा सार्वजनिक पनि रोकियो । ४ लाख ८२ हजार विद्यार्थी नतिजासँगै कक्षा ११ मा पढ्ने प्रतीक्षामा छन् ।
११ र १२ को परीक्षा तत्काल नहुने
कक्षा ११ को परीक्षा विद्यालयलाई नै गर्न दिने सरकारले निर्णय गर्यो । लगत्तै केही विद्यालयले परीक्षाको तयारी सुरु गरेसँगै सरकारले तत्काल परीक्षा नगर्न निर्देशन दियो । अब ११ को परीक्षाका लागि सरकारको निर्णय नै कुर्नुको विकल्प छैन । कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै गर्ने भनिएको छ । तर, बोर्डले कहिले गर्ने भन्ने नै अन्योल छ ।
कसरी शैक्षिकसत्र पूरा गर्ने त ?
सरकारको एकपछि अर्को निर्णयले विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय सञ्चालक पनि अलमलमा छन् । शैक्षिकसत्र कहिले सुरु गर्ने के गर्ने भन्ने ठोस निर्णय सरकारले गर्न सकेको छैन । सरकारको निर्णय नै विवादित हुँदै आएको छ । यद्यपि, सरकारी निकाय शैक्षिकसत्र पूरा गर्ने रणनीतिमा छ ।
शैक्षिकसत्र लस हुन दिन्नौँ
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले शैक्षिक सत्र प्रभावित हुन नदिने बताए । विभिन्न विकल्पको प्रयोग गरेर शैक्षिकसत्र पूरा गरिने उनले बताए । ‘शैक्षिकसत्र लस गर्ने पक्षमा छैनौँ । विद्यार्थीले यो वर्ष नै पूरा गर्नुपर्छ । आवश्यक सम्पूर्ण उपाय अपनाउछौँ,’ उनले भने ।
शिक्षण सिकाइलाई निरन्तरता
वैकल्पिक शिक्षण सिकाइलाई निरन्ता दिने उनले बताए । ‘शिक्षण सिकाइलाई निरन्तरता, स्वअध्यन र टोलटोलमा शिक्षण सिकाइलाई पुर्याउनुपर्छ,’ उनले भने, ‘कसरी हुन्छ विद्यार्थीलाई पढ्ने वातवरण बनाउनुपर्छ ।’
विद्यालय खुलेपछि समय बढाउने
तत्काल विद्यालय खुलाउने अवस्था नरहेकाले सहज भएपछि समय बढाए र बिदा कटाएर शैक्षिकसत्र चलाउने अवस्था आउन सक्ने महानिर्देशक थपलियाको भनाइ छ । तत्काल विद्यालय खुल्दैन । तर विद्यालय खुल्ने अवस्था भएपछि केही घण्टा सयम बढाउन सकिन्छ । बिहान र साँझको समयलाई प्रयोग गरेर शैक्षिकसत्र पूरा गर्नुपर्ने हुन्छ,’ उनले भने ।
पाठ्यक्रममा संकुचन
सामान्य अवस्थाका लागि पाठ्यक्रम बनाएकाले यो वर्ष पाठ्यक्रमअनुसार पढाउने अवस्था छैन । त्यसैले पाठ्यक्रमलाई छोट्याएर पढाउनुपर्ने अवस्था आएको छ । परीक्षालाई घटाएर शैक्षिकसत्र पूरा गर्ने सरकारी योजना छ ।
‘पाठ्यक्रममा संकुचन गर्नुपर्ने हुन सक्छ । अहिलेको पाठ्यक्रम सामान्य अवस्थाका लागि बनाएको हो । अहिले सामान्य अवस्था छैन । त्यसैले पाठ्यक्रममा संकुचन गर्न सकिन्छ,’ महानिर्देशक थपलियाले भने ।
एकैपटक सम्भव छैन
नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले एकैपटक देशभर शैक्षिकसत्र सुरु गर्न नसकिने बताए । ‘देशभर एकैपटक औपचारिक शिक्षा सुरु गर्न सकिँदैन । स्थिति सामान्य भयो भने पाठ्यक्रमलाई रि–डिजाइन गरेर कात्तिकबाट सुरु गर्न सकिन्छ,’ उनले भने, ‘पाठ्यक्रम र परीक्षालाई घटाएर शैक्षिकसत्र चलाउनुपर्छ ।’
तत्काल शिक्षक जाने अवस्था छैन
सरकारले १ भदौभित्र आफ्नो कार्यक्षेत्रमा पुग्न शिक्षकलाई निर्देशन दिएको छ । तर शिक्षकहरूले आफूहरू पुग्न नसक्ने बताएका छन् । ‘शिक्षकहरू तत्काल जान सक्ने अवस्था छैन । गएर क्वारेन्टाइनमा कहाँ बस्ने के गर्ने भन्ने समस्या छ । त्यसैले १ भदौदेखि शिक्षक कार्यक्षेत्रमा पुग्ने अवस्था छैन,’ उनले भने ।
शैक्षिकसत्र पूरा गर्न गाह्रो
एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले सम्भव भएको ठाउँमा पढाउन सुरु गर्नुपर्ने बताए । ‘१ भदौदेखि सम्भव छैन । १५ बाट सुरु गर्यो भने पनि पूरा गर्न सकिन्छ, वैशाखको आधामा सकिन्छ । तर १५ भदौदेखि उता गयो भने शैक्षिकसत्र पूरा गर्न गाह्रो हुन्छ,’ उनले भने । वैकल्पिक शिक्षण सिकाइलाई निरन्तरता र पाठ्यक्रमलाई परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए ।
वैकल्पिक शिक्षण सिकाइलाई पूरक बनाऔं
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले वैकल्पिक शिक्षण सिकाइलाई नै पूरक बनाउनुपर्ने बताए । ‘शैक्षिकसत्र नै नचलाउने भन्ने हुँदैन । विद्यार्थी प्रत्यक्ष विद्यालय आउने सम्भावना पनि छैन । वैकल्पिक शिक्षण सिकाइलाई पूरक बनाउनुपर्छ । रेडियो, टेलिभिजन अनालाइन कक्षाका लागि सरकारले निशुल्क रूपमा इन्टरनेट सेवा दिनुपर्छ । नसक्ने विद्यार्थीका लागि ट्याब वा ल्यापटपको व्यवस्था गर्नुपर्छ,’ उनले भने ।
भर्ना रोक्नु हुन्न
अध्यक्ष पुरीले १ भदौदेखि गर्ने भनेको विद्यार्थी भर्ना रोक्न नहुनेमा जोड दिए । ‘विद्यार्थी कहाँ छन्, के छन्, थाहा छैन । त्यसका लागि पनि विद्यार्थी भर्ना र अभिलेखिकरणलाई रोक्नुहुन्न,’ उनले भने ।
बालबालिकालाई कोरोना टेस्टको किट बनाउनु हुँदैन
अभिभावक आफ्ना बालबालिकालाई विद्यालय पठाउने पक्षमा छैनन् । नेपाल अभिभावक महासंघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले अहिलेको महामारीमा बालबालिकालाई कोरोना टेस्टको किट बनाउनु नहुने बताए । ‘बालबालिकालाई कोरोना टेस्टको किट बनाउनु हुँदैन । तर तहगत, क्षेत्रगत र कोराेनाको संक्रमण हेरेर जोखिम नभएको ठाउँमा चलाउन सकिन्छ । तत्काल विद्यालय सम्भव नभए पनि विश्वविद्याल चलाउन सकिन्छ,’ उनले भने ।
विश्वविद्यालयको हालत पनि उस्तै
त्रिभुवन विश्वविद्यलायसहित सबै विश्वविद्यालयको स्थिति उस्तै छ । विश्वविद्यालयहरूको पनि शैक्षित्रसत्र प्रभावित भएको छ । कसरी यो वर्षको शैक्षिकसत्र चलाउने भन्नेमा अन्योल छ । न परीक्षा हुन सकेको छ, न पठनपाठन नै । स्नातक, स्नातोकत्तर, एमफिल र पीएचडीका परीक्षा भएका छैनन् । असोजअगाडि नै परीक्षा गर्ने तयारी गरे पनि कोरोना संक्रमितको सङ्ख्या बढेसँगै विश्वविद्यालयको परीक्षा पनि धकेलिएको हाे । त्रिभुवन विश्वविद्यालयले कोभिड– १९ को संक्रमण बढ्दै गएकाले त्रिविका अत्यावश्यकबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । -शिलापत्रबाट