बैतडी । घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ४ जना घाइते भएका छन्। जिल्लाको सुर्नया गाउँपालिका ५ मडका बीरबहादुर मडैको घरमाथि पहिरो खस्दा एकै परिवारका चार जना घाइते भएका हुन्।

आज बिहान ६ बजेतिर घरभन्दा करीब २० मिटरमाथिबाट पहिरो खस्दा बीरबहादुर मडै, उहाँकी श्रीमति सुन्दरी मडै, छोरीहरु सरस्वती मडै र पार्वती मडै घाइते भएको रौलेश्वर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनसिंह धामीले बताउनुभयाे।

घरभित्र पुरिएका चार जनालाई उद्धार गरेर उपचारका लागि डडेल्धुरा पठाइएको छ। घाइतेहरुको टाउको, छाती लगायतका शरीरमा विभिन्न ठाउँमा चोटपटक लागेको छ।

बर्षातका कारण गाडी समेत नचलेकाले घाइतेहरुलाई स्थानीयहरुले स्ट्रेचरमा बोकेर अस्पताल लगेका छन्। घरमाथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। यस्तै सोही ठाउँका दिनेश मडै र रामबहादुर मडैको घर पनि पहिरोको जोखिममा परेपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ।

सुर्नया गाउँपालिका वडा नं ४ चाडी द्वालकाठाका अजी महरा र धौलसिंह महराको घर पनि पहिरोको जोखिममा परेको छ। घर तलतिर पहिरो खस्दा घरमात्रै बाँकी रहेको आँगन पहिरोले भत्काएकाले घर पनि पहिरोको जोखिममा परेको स्थानीय गणेशबहादुर महराले बताउनुभयाे।

यसैबिच बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ स्थित शान्तिपुर प्रसुती सेवा केन्द्र भवन पहिरोले पुरेको छ । लगातारको बर्षासंगै गएराती खसेको पहिरोले प्रसुती सेवा केन्द्रको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको स्थानीय हरिसिंह महराले जानकारी दिनुभयो ।

प्रसुती सेवा केन्द्रको माथिबाट खसेको पहिरोले दुई कोठे भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको उहाँले बताउनुभयो ।पहिरोले प्रसुती सेवा केन्द्रको भवन पुरेपछि प्रसुती सेवा केन्द्र भित्र रहेका सम्पूर्ण सामग्री नष्ट भएका स्थानीय मन्ती महराले जानकारी दिनुभयो । स्वास्थ्यचौकी भन्दा टाढा रहेका समुदायलाई सुरक्षित प्रसुती सेवा प्रदान गर्नका लागि सञ्चालनमा ल्याइएको भवन पहिरोले पुरेपछि सुरक्षित प्रसुती बन्द हुने भएको छ ।

पहिरोका कारण सोही प्रसुती सेवा केन्द्रको नयाँ बनेको भवन पनि पहिरोको जोखिममा परेको छ । नयाँ भवनको तलतिरबाट पहिरो खस्न थालेकाले सो भवन पनि पहिरोको जोखिममा परेको महराले जानकारी दिनुभयो ।

पहिरोका कारण प्रसुती सेवा केन्द्र भित्र रहेका सबै उपकरण, औषधि र अन्य स्वास्थ्य सामग्री नष्ट भएका प्रसुती सेवा केन्द्रका अनमी रेखा चन्दले जानकारी दिनुभयो ।

याे पनि पढ्नुहाेस

अछाममा बाढीले बस्ती बगायो, ६ जनाको शव भेटियो, १५ जना बेपत्ता

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?