दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकाले गत आर्थिक बर्षमा कोरोना राेकथाम, नियन्त्रण तथा व्यवस्थापनमा एक करोड ५० लाख ७१ हजार ८ सय रुपैंया खर्च गरेको छ । क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन, आइसोलेसन निर्माण, औषधि तथा स्वास्थ्य सामाग्री खरीद, यातायात खर्च र विविध शीर्षकमा सो रकम खर्च भएको गाउँपालिकाका लेखापाल नारदसिंह बिष्टले जानकारी दिनुभयो ।
गाउँपालिकाले कोरोना कारण छाक टार्न मुस्किल भएका नागरिकहरुलाई ३७ लाख बराबरको राहत वितरण गरेको जनाएको छ । क्वारेन्टाइन व्यवस्थापन र आइसोलेसन निर्माण, औषधि र स्वास्थ्य सुरक्षा सामग्री खरीद,यातायात र विविध शीर्षकमा एक करोड १३ लाख ७१ हजार ८ सय खर्च भएको जनाएको छ ।
यसैगरि बैतडीको पञ्चेश्वर गाउँपालिकाले गत आर्थिक बर्षमा कोरोना नियन्त्रण तथा व्यवस्थापनमा एक करोड बढी रुपैंया खर्च गरेको छ। गाउँपालिकाकाले क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन, औषधि खरीद तथा स्वास्थ्य सुरक्षा सामग्री खरीद, राहत वितरण, एम्बुलेन्स व्यवस्थापन, यातायात लगायतका शीर्षकमा एक करोड ४१ हजार ७७६ रकम खर्च गरेको हो।
गाउँपालिकाले सबैभन्दा बढी राहत वितरणमा ६१ लाख ७० हजार २२९ रुपैंया खर्च गरेको गाउँपालिकाका सूचना अधिकारी दिपेन्द्र घटालले बताउनुभयाे।
गाउँपालिकाले औषधि खरिदमा ८ लाख ३८ हजार ५९० रुपैंया, स्वास्थ्य उपकरण खरीदमा ४ लाख ९० हजार ८ सय रुपैंया, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनमा ७ लाख ४० हजार ९२० रुपैंया खर्च गरेको छ।