काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीको तलब निकासाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा २३ जनाको नाम पठाएको छ ।

आईसीसीले तलब पठाउनका लागि खेलाडीको हस्ताक्षरसहित डकुमेन्ट पठाउन भनेपछि क्यानले २३ जनाको नाम पठाएको हो । क्यान निलम्बनमा रहँदा क्रिकेट खेलाडीको तलब आईसीसीले नै दिँदै आएको थियो । त्यसै अनुसार २०१९ को तलबको लागि नामावली संकलन गरेर आईसीसीमा पठाइएको क्यान सचिव अशोकनाथ प्याकुरेलले बताउनुभयाे ।

पछिल्लो पटक आईसीसीले सन् २०१८ मा दुई वर्षको एकमुष्ट तलब राष्ट्रिय खेलकुद परिषदमार्फत खेलाडीलाई पठाएको थियो । त्यसपछि अहिलेसम्म खेलाडीको तलब आएको छैन ।

२०१८ मा विभिन्न ३ श्रेणीमा रहेका २१ खेलाडीको तलब आएको थियो । क्यानका सचिव प्याकुरेलका अनुसार २०१९ मा आईसीसीले नै २२ जनाको तलब पठाउन लागेको बताउनुभयाे ।

‘२०१९ को लागि तलबका लागि २२ जना खेलाडी छन् । आईसीसीले नै २०१९ मा २२ जनाको सूची बनाएको छ,’ प्याकुरेलले भन्नुभयाे,’ त्यसमा एक जना भिडियो एनालिस्टसहित २३ जना छन् ।’

प्याकुरेलले यो क्यानको निलम्बन फुकुवा हुनुअघिको सूची रहेको बताउनुभयाे । ‘२२ जनाको नाम उतैबाट आएको हो । यो हामी फुकूवा हुनुअघिको हो । हामीले पठाउनुपर्ने नामहरु पठाएका छौँ ।

पछिल्लो ग्रेडिङ सम्झौताअनुसार ग्रेड ‘ए’मा रहेका खेलाडीले ३५ हजार, ग्रेड ‘बी’ मा रहेका खेलाडीले २५ हजार र ग्रेड ‘सी’ मा रहेका खेलाडीले १५ हजार पाउनेछन् ।

ग्रेडिङमा रहेका २१ खेलाडीसहित एमसीसीविरुद्ध टीयू मैदानमा फस्ट क्लास क्रिकेट खेलेका राजु रिजालको नामसमेत थपेर आईसीसीमा पठाइएको स्रोतले जनाएको छ ।

यस्तै क्यान निलम्बनमा रहँदा नेपाली टिमको व्यवस्थापन पनि सम्हाल्दै आएका भिडियो एनालिस्ट रमन शिवाकोटीको नाम पनि पठाइएको छ ।

सचिव प्याकुरेलले यताबाट गर्नुपर्ने काम गरिसकेको र अब सकेसम्म चाँडै खेलाडीको तलब निकासा हुने बताउनुभयाे ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपाली खेलाडीले तलब पाउन पनि ढिलाइ भइरहेको छ । यसैगरी क्यानले महिला र पुरुष १८-१८ जना गरी ३६ खेलाडी र स्टाफहरुको कवरोना विमा गर्ने भएको छ ।

ग्रेडिङमा रहेका २१ खेलाडीहरु

ए श्रेणी : पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी ।

बी श्रेणी : शक्ति गौचन, आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी ।

सी श्रेणी  :  सुवास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनील धमला, सुशन भारी, किशोर महतो, विनोद भण्डारी ।

तलबको लागि पठाइएका थप दुई नाम

राजु रिजाल (खेलाडी)

रमन शिवाकोटी (भिडियो एनालिस्ट)

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?