दार्चुला । सुदूरपश्चिमेलीहरुको प्रमुख पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान पर्व हरितालिका तीज मनाउन दार्चुलामा रोक लगाइएको छ । नोवेल कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि चाडपर्व मनाउँदा भिडभाड नगर्न र अनिवार्य जनस्वास्थ्य तथा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न जिल्ला प्रशासन कार्यालय दार्चुला र विभिन्न स्थानीय तहहरुले अनुरोध गरेका छन् ।
तीज र गौरा पर्व जस्ता पर्वहरु घरमै बसी जनस्वास्थ्य एबं सुरक्षा मापदण्डहरु कायम गरि परिवार भित्रै मनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । सामुहिक रुपमा भिडभाड गरि चाडपर्व मनाएमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
तीज, गौराजस्ता चाडपर्वहरु नजिक आइरहेकोले नेपाल सरकारको निर्णय र निर्देशन अनुसार भिडभाड नहुने गरेर परिवारका सदस्यहरुसंग मात्रै चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ । घरायसी पूजाबाहेक सामूहिकरूपमा गौरा, खेणी, तीजजस्ता पर्व मनाउँदा कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिकरूपमा चाडपर्व मनाउन रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवँरले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबै स्थानीय तहहरुलाई समेत भिडभाड हुने कुनै पनि चाडपर्व, सभा, सम्मेलन तथा कार्यक्रम नगर्न नगराउन आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम र स्थानीय प्रशासनको अनुरोध पछि दार्चुलाका छ वटा स्थानीय तहहरुले औपचारिक निर्णय गरेर गौरा र तीज पर्वमा भिडभाड नगर्न तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।
दार्चुलाका नौँ वटा स्थानीय तहमध्ये लेकम, मालिकार्जुन, व्याँस, नौगाड र मार्मा गाउँपालिका र शैल्यशिखर नगरपालिकाले तीज, गौराजस्ता पर्वहरु नजिक आइरहेको सन्दर्भमा नेपाल सरकारको निर्णयानुसार भिडभाड नहुने गरेर मात्रै चाडपर्व मनाउन आग्रह गरेका छन् ।
लेकम गाउँपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै कोरोनाको कारण गाउँपालिकाभित्र मनाईने गौरा, तीज, खेणी, धोणी लगायतका पर्वहरुमा भिडभाड नगर्न तथा नगराउन अनुरोध गरेको छ । यो बर्ष यस्ता पर्वलाई घरभित्रै मनाउन आग्रह गरिएको छ । यो बर्ष गौरा पर्व भदौ १० गते परेको छ भने हरितालिका तीज भदौ ५ गते रहेको छ ।
आज दर खाने दिन, घरमै मनाउनुपर्ने
आज तीजको दर खाने दिन । भोलि बस्ने व्रतको अघिल्लो दिन आज खीर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दूध घिउबाट बनेका परिकार दरका रुपमा खाने परम्परा छ ।
ठाउँअनुसार कतै बेलुका अरु चीज नखाएर दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । तीजमा धेरै महिला व्रत बस्ने गरे पनि पहिलेजस्तो निराहार व्रत बस्ने चलन भने हराउँदै गएको छ ।
दर खानको लागि चेलीबेटीलाई माइत बोलाउने चलन भए पनि यो वर्ष कोरोनाका कारण चेलीबेटी आफ्नै घरमा नै तीज मनाउने तयारीमा छन् । अहिले भिडभाड गर्दा कोरोनाको संक्रमण बढ्ने भएकाले भोलि पनि आफ्नै घरभित्रै रमाइलो गरेर मनाउनुपर्नेछ । यस्तै तीजका दिनमा खुल्ने काठमाण्डौको पशुपति मन्दिरलगायत पनि बन्द हुने भएका छन् ।
यसैबीच, व्रत बस्दा स्वास्थ्यलाई ध्यान दिनुपर्ने डाक्टरले बताएका छन् । दर खाँदा रङ्गलगायत अखाद्य वस्तु हालेका फोहोर गरी बनाइएका मिठाई तथा विषादी हालेका तरकारी र फलफुल नखान डाक्टरले सुझाव दिएका छन् । सकेसम्म घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन डाक्टरको सुझाव छ ।