दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकास्थित लटिनाथ स्वास्थ्य चौकीमा पहिलो पटक मेडिकल अधिकृत (एमबिबिएस) डाक्टर आएका छन् । लटिनाथ स्वास्थ्य चौकीमा नियुक्त भएपछि डाक्टर महादेब भट्टलाई बिहिबार एक कार्यक्रमका बिच स्वागत गरिएको छ ।
मार्मा क्षेत्रका नागरिकको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै मार्मा गाउँपालिकाले तलब व्यहोर्ने गरी दरबन्दी शृजना गरेपछि यसअघि गोकुलेश्वर अस्पतालमा कार्यरत भट्ट मार्मा गाउँपालिकास्थित मार्मा स्वास्थ्य चौकीमा गएका हुन् ।
नजिक अस्पताल नभएकोले जनतालाई गाउँघरबाटै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले स्वास्थ्य चौकीमा डाक्टरको दरबन्दी शृजना गरि पदपुर्ती गरिएको मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले जानकारी दिनुभयो ।
मार्मा पुगेसंगै बिहिबार डा. भट्टको एक औपचारिक कार्यक्रमका बिच स्वागत गरिएको छ । स्वागत कार्यक्रममा बोल्दै डाक्टर भट्टले शुक्रबारदेखि नियमित स्वास्थ्य सेवा सुरु गर्ने बताउनुभएको छ ।
पहिलो पटक मार्माबाटै स्वास्थ्य सेवा प्रदान गर्न डाक्टर आएपछि स्थानीय नागरिक खुसी भएका मार्मा गाउँपालिका स्वास्थ्य शाखा संयोजक चक्रसिह धामीले बताउनुभयो ।
यसैबिच डा. भट्ट मार्मा गाउँपालिका गएसंगै दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा रहेको गोकुलेश्वर अस्पताल डाक्टर विहिन भएको छ । २०७० सालमा प्राथमिक स्वास्थ्य केन्द्रबाट १५ सैयाको अस्पतालमा स्तरोन्नती भएको अस्पतालमा नबौँ तहको एमडिजिपी डाक्टरको दरबन्दी भएपनि स्थापना भएको सात बर्षसम्म प्रमुख डाक्टर आएको छैन् ।
अहिलेसम्म अस्पताल प्रमुख (एमडिजिपी डाक्टर) नपाएको गोकुलेश्वर अस्पतालमा पछिल्लो समय मेडिकल अधिकृत समेत नहुदा उपचारका लागि अस्पतालसम्म पुग्ने बिरामीहरु समस्यामा परेका छन् । दुईजना मेडिकल अधिकृतको दरबन्दी भएपनि अहिले अस्पतालमा एक जना डाक्टर समेत कार्यरत नरहेको स्थानीयले बताएका छन् ।
दार्चुला र बैतडी दुबै जिल्लाका बिरामीहरुको चाप हुने गोकुलेश्वर अस्पतालमा डाक्टर अभाव हुदा सामान्य उपचारका लागि समेत जिल्ला सदरमुकाम र तराईका अस्पतालहरु धाउनुपर्ने बाध्यता छ ।
बिरामीहरुको चाप बढी भएकै कारण १५ शैयाको अस्पतालमा २५ शैया सञ्चालन गरिएको छ । तर डाक्टर नहुदा अस्पतालका शैयासम्म पुग्ने बिरामीहरुले रोग पालेर बस्नुपर्ने बा अन्यत्रै गएर उपचार गराउनुपर्ने बाध्यता रहेको स्थानीय युवा राजेशसिंह बिष्टले बताउनुभयो ।
मार्मा गाउँपालिकामा डाक्टर महादेब भट्टको स्वागत गरिदै । तस्बिर सौजन्य : बिक्रम जोशी