दार्चुला । दार्चुलामा गौरा पर्व नजिकिए संगै बजारमा भिडभाड बढ्न थालेको छ । चाडपर्व नजिकिए संगै दार्चुलाका मुख्य बजार क्षेत्र खलङ्गा, गोकुलेश्वर लगायतका स्थानीय बजार क्षेत्रमा भिडभाड बढेको गुनासो समेत बढ्दै गएको छ ।

चाडपर्वको बेलामा खाद्यान्न, लुगा कपडा, जुत्ताचप्पल लगायतका सामान किन्नेको संख्यामा बृद्धि भएको स्थानीय ब्यापारीहरुले बताएका छन । कोरोना भाइरसका कारण गत विगतको जस्तो बढि चहलपहल नभएपनि गौरा पर्व नजिकिए संगै बजार क्षेत्रमा भिडभाड बढीरहेको छ ।

कोरोनाको जोखिम बढ्ने भन्दै स्थानीय प्रशासनले सार्वजनिक स्थानमा बढी भिडभाड नगर्न आग्रह गरेको भए पनि बजार क्षेत्रमा भिडभाड बढेको स्थानीय ज्ञानदेव मिश्रले बताउनुभयो । कोरोना भाईसरको जोखिम न्युनिकरणका लागी सरकारले चाड पर्व घरमै बसेर मनाउन र बजार क्षेत्रमा भिडभाड नगर्न निर्देशन दिएको छ । तर सरकारको निर्देशनको प्रवाह नै नगरी स्थानीय बजार क्षेत्रमा भिडभाड बढेको छ ।

नोवेल कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि चाडपर्व मनाउँदा भिडभाड नगर्न र अनिवार्य जनस्वास्थ्य तथा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न जिल्ला प्रशासन कार्यालय दार्चुला र सबैजसो स्थानीय तहहरुले अनुरोध गरेका छन् । सामुहिक रुपमा भिडभाड गरि चाडपर्व मनाएमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाका नौँ वटै स्थनीय तहहरुले गौरा, खेडी, धोडी लगायतका पर्व नजिक आइरहेको सन्दर्भमा नेपाल सरकारको निर्णयानुसार भिडभाड नहुने गरेर परिवारका सदस्यहरुसंग मात्रै चाडपर्व मनाउन आग्रह गरेका छन् ।

यसैबिच दार्चुलामा सार्वजनिक स्थानमा मास्क नलगाई निस्कने र सामाजिक दुरी कायम नगर्ने दुई सय ९२ जनालाई कार्वाही गरिएको छ । गृह मन्त्रालयले असार २२ गते देखि सार्वजनिक स्थानमा मास्क नलगाई निस्कने र सामाजिक दुरी कायम नगर्नेहरुलाई कार्वाही गर्न ७७ ओटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।

सोहि निर्देशन अनुसार दार्चुलामा पनि असार २८ गते बाट कार्वाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताउनुभयो । असार २८ गते देखि हाल सम्म जिल्लामा दुई सय ९२ जनालाई कार्वाही गरि २९ हजार दुई सय रुपैयाँ राजस्व संकलन गरिएको उहाँले बताउनुभयो ।

कार्वाहीमा परेका दुई सय ९२ जनाबाट एक सय रुपैँयाका दरले जरिवाना तिराउने गरिएको छ । जिल्लाभरिमा हाल सम्म २० हजार एक सय ९२ जनालाइ सम्झाई बुझाई गरि छोडिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जोशीले बताउनुभयो । सार्वजनिक स्थानमा निस्कदा मास्क लगाउन र सामाजिक दुरी कायम गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?