![](https://lokdarpantv.com/wp-content/uploads/2020/08/Damai-pariwar1.png)
दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ पस्ती पहिरोमा परि ज्यान गुमाएका लेकम गाउँपालिका वडा नम्बर ५ पिड अम्कुरका अर्जुन दमाई र मिलन दमाई परिवारलाई लेकम गाउँपालिकाले दुई लाख राहत दिने भएको छ ।
भदौँ २ गते बसेको लेकम गाउँपालिका गाउँकार्यपालिकाले बैठकले मालिकार्जुन पहिरोमा ज्यान गुमाएका लेकम गाउँपालिका वडा नम्बर ५ पिड अम्कुरका मृतक अर्जुन दमाई र मिलन दमाई दाजुभाईको परिवारलाई जनहि एक लाखका दरले दुई लाख रुपैँया राहत दिने निर्णय भएको लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले जानकारी दिनुभयो ।
साउन ६ गते बिहान पस्ती पहिरोमा पुरिएर २६ बर्षीय अर्जुन दमाई र २२ बर्षीय मिलन दमाई दाजुभाईको घटनास्थलमै मृत्यु भएको छ । परिवारका दुईवटै छोरा गुमेपछि सिलाईकटाइ गरेर जीविकोपार्जन गर्दै आएको स्यानु दमाई परिवार बिचल्लीमा परेको छ ।
यसअघि केन्द्र सरकारले बाढी, पहिरो तथा डुबानमा परी मृत्यु भएका परिवारलाई दुई लाख दिने र एउटै परिवारका एक भन्दा बढी मानिसले ज्यान गुमाएको भए प्रति मृतक थप एक लाखका दरले राहत प्रदान गर्ने निर्णय गरिसकेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले समेत ९ वटै जिल्लामा बाढी, पहिलो तथा डुबान जस्ता प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाहरुका नजिकका हकवालालाई एक लाख रुपैँया राहत दिने निर्णय गरेको छ । गतिशिल नेपाल व्यक्तित्व विकास शैक्षिक कार्यक्रमका संस्थापक सञ्चालक हरिप्रसाद जोशीको नेतृत्वमा दमाई परिवारका लागि ६८ हजार ९२६ रुपैँया राहत संकलन भएको छ । संकलन भएको रकम दमाई परिवारको घरमै पुगेर हस्तान्तरण गरिसकेको जोशीले बताउनुभयो ।
प्रदेश र केन्द्र सरकारले प्रदान गर्ने राहत रकम प्रमुख जिल्ला अधिकारी मार्फत प्रदान गरिनेछ ।
शोकमा दमाई परिवार
घरको सहाराको रुपमा रहेका दुई छोराको मृत्युपछि लेकम गाउँपालिका ५ का ५८ वर्षीय सानो दमाईको परिवार विचल्लीमा परेको छ । घरको ऋण तिर्न भन्दै दिदीको घरमा सिलाई गर्न उनीहरु शंकरपुर पस्ती गएका थिए । तर उनीहरुले काम गर्ने ठाउँमा पहिरो आएपछि दुवै जना त्यहि पहिरोमा पुरिएर ज्यान गुमाउन पुगेका थिए ।
उनीहरुको घर बनाउँदा परेको २ लाख ५० हजार रुपैयाँ ऋण तिर्न बाकी थियो । जनता आवास कार्यक्रमले घर नभएका विपिन्न दलित परिवारलाई घर बनाउन शुरु गरेको थियो । जनता आवास कार्यक्रममार्फत आएको एक लाख ८० हजार रुपैयाँ घर निर्माण हुन सकेन् । थप घर पूरै निर्माण गर्न गाउँबाट ऋण निकाले । घरको ऋण तिने चिन्ता भएपछि उनीहरु सिलाई व्यवसाय गर्न मालिकार्जुन गाउँपालिकाको पस्ती गएका थिए । रिणको चिन्ता र छोराहरुको देहान्तको खबरले पुरै परिवार एक महिनादेखि शोकमा छ ।
अर्जुनका आमा भुरा र श्रीमति कलावतीको अवस्था निकै दयनिय रहेको स्थानीय दिपक परियारले बताउनुभयो ।