दार्चुला । सुदूरपश्चिमेलीहरुको मौलिक संस्कृतिसँग जोडिएको गौरा पर्व यसवर्ष घर भित्रै सिमित भएको छ। विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको कारण सुदूरपश्चिमेलीहरुले घरमै गौरा पर्व मनाईरहेका हुन्।

गौरामा हुनसक्ने भीडभाडलाई लक्षित गर्दै स्थानीय प्रशासनहरुले जारी गरेका विभिन्न आदेशपछि घरमै गौरा मनाईरहेका छन्। धेरै जिल्लामा गौरा पर्वलाई नै लक्षित गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका छन्।

आईतबार पञ्चमीदेखि सुरु भएको गौराको आज दोस्रो दिन भाद्र कृष्ण षष्ठी तिथि परेको छ। हिजो पञ्चमीका दिन बिधिवत् भिजाइएका पञ्च बिरूडालाई आज ब्रतालु नारीहरूले गाउँकै पबित्र जलासयमा एकत्रित भई फाग, माङल गाउँदै बिरूडा पखाल्ने चलन रहेको छ।

आजै गौरा महेश्वरको पूजा अर्चना हुने घरको आँगनस्थित तुलसी मठमा एकत्रित भईस्थानिय बनस्पतिको पूजाअर्चना गर्ने चलन समेत रहेको छ। गौरा सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो।गौरापर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ।

बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन्।

धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्।

अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत र्पुयाउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहेकाे छ।

दार्चुलाकाे अधिकासं स्थानमा मानिसहरुले साेमबार बिराेडा धुने र मंगलबार भित्र गाैरा तथा बुधबार अठवानी अर्थात ठूली गाैरा मनाउदैछन् । बिगत बर्षहरुकाे जस्ताे चहलपहल नभएपनि धार्मिक संस्कार र परम्परा अनुसार गाैरा र महेश्वरकाे पुजाअर्चना गरेर याे बर्ष गाैरा पर्व मनाइरहेकाे लेकम गाउँपालिका वडा नम्बर ५ का हरिना जाेशीले बताउनुभयाे ।

गाैराकाे अवसरमा केहि स्थानमा भिडभाड देखिएकाेले स्थानीय प्रशासनले ध्यान दिनुपर्ने र जनाता समेत सचेत हुनुपर्ने स्थानीयकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?