दार्चुला। सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको आज तेस्रो दिनमा ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन् ।
स्थानीय भाषामा भितरीकी गौरा अथवा “ठूली गौरा ”भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् ।
ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ ।
आज अमुक्ताभरण सप्तमीका दिन ब्रतालु महिलाहरु एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको पण्डित दयाकृष्ण पन्तको भनाइ छ । गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् ।
ब्रतालु महिलाहरुले धारण गर्ने बिशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ । यसका साथै साँझको समयमा ब्रतालु महिलाहरुले कुण्ड स्नान गर्ने चलन रही आएको छ ।
आजको गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन ब्रतालु महिलाहरुले धारण गर्ने गर्दछन् । गौरापर्वको मुख्य दिन आज सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरुले राति मिठोमसिनो खाना खाने चलन छ ।
गौराको मुख्यदिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ । तर यो बर्ष कोरोनाकाे कारण गौराको रौनकता नभएको स्थानीय बासिन्दाले बताएका छन् ।