दार्चुला । मार्मा गाउँपालिका वडा नम्बर १ रातापानीमा बुधबार दिउँसो एक बजे टेक्टर दुर्घटना हुदा एक जना पुरुषको मृत्यु भएको छ । अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मार्मा गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय गणेश धामी रहेका छन् । मार्मा गाउँपालिका वडा नम्बर १ का १६ वर्षीय विकास नेपाली, सोहि ठाउँका ५३ वर्षीय रामसिह महरा, १९ वर्षीय कृष्ण नेपाली, २२ वर्षीय सागर नेपाली र अपि हिमाल गाउँपालिका वडा नम्बर २ का विरसिह लोथ्याल गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय लटिनाथका ईन्चार्ज एबं प्रहरी निरीक्षक कमल बहादुर बिष्टले जानकारी दिनुभयो ।
घाइते पाँचै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । मृतक धामी मार्मा गाउँपालिका वडा नम्बर २ सेलभिसामा पशल सञ्चालन गर्दै आएका थिए ।
मार्मा गाउँपालिकाका वडा नम्बर २ सेलभिसाबाट चामल र मानिस बोकेर अपि हिमाल गाउँपालिकाको मकरीगाड जादै गरेको से ४ क ४०४७ नम्बरको टेक्टर रातापानीमा दुर्घटनामा परेको हो ।
दुर्घटनाको कारण खुल्न सकेको छैन् । टेक्टर चालक कमल लामा लाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गर्ने काम भइरहेको प्रहरी निरीक्षक बिष्टले बताउनुभयो ।