
दार्चुला। बैतडीमा विहीबार थप १७ जनामा कोरोना पुष्टि भएको छ ।
१२ जना नयाँ र यसअघि कोरोना पुष्टि भएर होम आईसोलेसनमा बसेका पाँच जना गरि १७ जनामा कोरोना सङ्क्रमण पुष्टिभएको हो ।
विहिबार डडेल्धुरा अस्पतालमा पीसीआर परीक्षण गरिएका दशरथ चन्द नगरपालिका –५, ६ र ३ नम्बर वडाका पाँच पुरुष र तीन महिला गरि आठ जना, मेलौली नगरपालिका–१, का दुई पुरुष र डिलासैनी गाउँपालिका –१, का एक जना पुरुष गरि १२ जनामा कोरोना पुष्टि भएको हो ।
यसअघि होम आईसोलसेनमा बसेर कोरोना पोजेटिभ देखिएर निको भएका शिवनाथ गाउँपालिकाका पाँच जनामा पनि पुन कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवन जोशीले बताउनुभयोे ।
जिल्लामा हाल सम्म कोरोना पुष्टि भएका तीन सय ४२ जना मध्ये तीन जना काठमाडौंबाट र अन्य सबै भारतबाट आएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले बताउनुभयो ।
भारतबाट आएर होम आईसोलेशनमा बसेर यस अघि कोरोना सङ्क्रमण पुष्टि भएर निको भएका व्यक्तिमा समेत पुन कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
होम आईसोलेसनमा बसेर कोरोना सङ्क्रमण पुष्टि भएका शिवनाथ गाउँपालिकाका पाँच जना र उनका घरपरिवारका एक जना सदस्यको पीसीआर परीक्षण गर्न स्वाब सङ्कलन गरेर डडेल्धुरा अस्पताल पठाउँदा परिवारका अन्य सदस्यको नतिजा भने नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
आज थपिएका सहित बैतडीमा कोरोना सङ्क्रमितको संख्या तीन सय ४२ पुगेका छ।