दार्चुला। देशभरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप छ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा भक्तपुरमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याइएकी स्थानीय ६२ वर्षीया महिलाको गएराति ज्यान गएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।
उच्च रक्तचापको बिरामी रहेकी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायतको समस्याका कारण उपचारका लागि नागरिक अस्पताल ल्याएको महिलाको अस्पताल ल्याउँदा ज्यान गइसकेको बताउनुभयो ।
यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा थप तीन जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।
मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मोरङ बेलवारीकी ५६ वर्षिय महिला र झापाको दमक नगरपालिकाका ८३ वर्षिय पुरुषको आज बिहान निधन भएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
त्यस्तै सिराहा जिल्लाको सिराहा नगरपालिकाका–२ का ५५ वर्षिय पुरुषको हिजो राति मृत्यु भएको छ ।
मृत्यु हुने दुवै पुरुष मुटु, उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगी रहेको बताइएको छ ।
यस्तै झापाको कमल गाउँपालिकामा कोरोना संक्रमणका कारण आज(शुक्रबार) बिहान एक व्यक्तिको मृत्यु भएको छ ।
केरखा बजारका ८३ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।
वृद्धलाई कोरोना संक्रमण देखिएपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो ।उनको उपचारकै क्रममा आज बिहान निधन भएको जनाइएको छ ।
यो संगै देशभरी कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक सय ८९ पुगेको छ ।