दार्चुला । भारतको पिथौरागढ जिल्लामा रहेकाे धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएकाे छ ।
यहि भदौ २० गते राती १२ बजेदेखि भदौ २१ गते बेलुकी ६ः४५ बजेसम्मको लागि धौलीगंगा बाधको ढोका खोलिने जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
धौलीगंगा जलविद्युत् परियोजनाको ड्याम साइटमा सिल्ट फ्लसिङको काम गर्ने भन्दै बाँधको ढोका खोल्न लागेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
सिल्ट फ्लसिङको कार्यका लागि जलविद्युत्को बाँधका ढोकाहरु खोल्नेबारे भारतीय प्रशासनले जानकारी गराए पछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदि तटिय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।
भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित २८० मेगावाट क्षमताको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलेपछि महाकालीमा जलस्तर बढ्ने हुदा व्याँस गाउँपालिका वडा नम्बर ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मको महाकाली नदी तटीय क्षेत्रका नागरिकहरुलाई पूर्व सतर्कता अपनाउन र नदि नटिय क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हो ।
यसअघि पनि सिल्ट फ्लसिङ कार्यका लागि भन्दै भारतीय पक्षले उक्त जलविद्युत्का बाँधका ढोकाहरु पटक पटक खोल्दै आएको छ ।