धनगढी। कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापी पद्धतिबाट कोरोना सङ्क्रमितको उपचार सुरु गरिएको छ ।

कडा खालको कोरोना सङ्क्रमित बिरामीका उपचारको लागि प्लाज्मा थेरापी पद्धतिबाट उपचार सेवा सुरु गरिएको हो । एकदम जटिल अवस्थामा पुगेका बिरामीको मात्रै यो विधिबाट उपचार गरिने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो ।

‘साधारण र मध्यम बिरामीभन्दा पनि क्रिटिकल केसका लागि मात्रै प्लाज्मा थेरापी पद्धति उपचार सेवा सुरु गरिएको हो’, उहाँले भन्नुभयो । ‘उपचारका लागि हामीले सम्पूर्ण तयारी गरिसकेका छौँ ।’
सेती प्रादेशिक अस्पतालले प्लाज्मा तयार गर्नका लागि कोरोना रोगमुक्त भइसकेका व्यक्तिहरूलाई रक्तदान गर्नसमेत आह्वान गरेको छ । कोरोना रोगमुक्त भएका व्यक्तिको रगतबाट नै प्लाज्मा तयार पारेर जटिल अवस्थाका सङ्क्रमितको उपचार गरिने श्रेष्ठले बताउनुभयो ।

कोरोनामुक्त भई पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएका व्यक्तिले मात्रै रक्तदान गर्नुपर्ने अस्पतालले जनाएको छ । कोरोनामुक्त भएको दुई हप्ता पूरा भई छ हप्ता ननाघेका व्यक्तिले रक्तदान गरेर मानव जीवनरक्षाका महान कार्यमा सहयोग गर्न सक्ने सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

यसैबीच, सामाजिक विकास मन्त्रालयको आइतबारको विवरण अनुसार सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको सङ्ख्या पाँच हजार ७५४ पुगेको छ । जसमध्ये ८१४ सक्रिय सङ्क्रमित रहेको र चार हजार ९२९ जना कोरोनामुक्त भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

यो प्रदेशमा हाल भेन्टिलेटरमा एक जना पनि सङ्क्रमित नरहेको जनाइएको छ । यस्तै, १२० जना सङ्क्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ । –गाेरखापत्रबाट

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?