
दार्चुला । आफ्नै खर्चमा डाक्टर नियुक्त गरेको मार्मा गाउँपालिकाले लटिनाथ स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्न भवन निर्माण गर्ने भएको छ । मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीको अध्यक्षतामा बसेको गाउँ कार्यपालिका बैठकले स्वास्थ्य चौकीको भवन तत्काल निर्माण गर्ने निर्णय गरेको वडा नम्बर ३ का वडाअध्यक्ष पुस्कर सिह बिष्टले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकीको आकस्मिक कक्ष र अन्तरंग विभागको लागि भवन अभाव रहेकोले तत्काल भवन निर्माण कार्य अघि बढाउने निर्णय गरिएको उहाँले बताउनुभयो । भवन निर्माणको लागि आवश्यक योजना स्टमेट गर्ने जिम्मेवारी सव इन्जिनियर विक्रम जोशीलाई जिम्मेवारी दिइएको छ । स्वास्थ्य चौकीको लागि आवश्यक औषधी खरिद गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यसैबिच मार्मा गाउँपालिका वडा नम्बर ४ का ६ परिवारलाई राहत वितरण गरिएको छ । मार्मा गाउँपालिका गाउँकार्यपालिकाको बैठकले धारीगाडका बाढी, पहिरो पिडित परिवारलाई राहत वितरण गर्ने निर्णय गरेको हो ।
घरबार विहिन भएका पुने धामीलाई एक लाख रुपैयाँ र निहिरे धामी, अमरसिह धामी, कमान धामी, विरसिह धामी र रतने धामीको परिवारलाई समान ५० हजार रुपैँयाका दरले राहत वितरण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष जमनसिह धामीले जानकारी दिनुभयो । मार्मा गाउँपालिका वडा नम्बर ४ का मृगौला पिडित कमानसिह महरालाई ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको पत्रकार नरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
यस्तै मार्मा गाउँपालिका स्तरीय आयोजना सञ्चालक समिति गठन गरिएको छ । गाउँपालिका उपाध्यक्ष बागमति ठगुन्नाको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रमुख प्रशासकीय अधिकृत रामकुमार राना, मार्मा गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष सुरेन्द्रसिह महता, शिक्षा शाखा प्रमुख राजेन्द्र प्रसाद जोशी, र गाउँपालिकाका एमआइएस अपरेटर विरेन्द्र ठगुन्ना सदस्य रहेको पत्रकार जोशीले बताउनुभयो ।