दार्चुला । कोरोना संक्रमण रोकथामका लागि प्रदेशका कतिपय जिल्ला तथा स्थानीय तहमा लकडाउन तथा निषेधाज्ञा जारी छ। यो अवधिभित्र प्रदेश १ मा आत्महत्याका घटना कहालीलाग्दो गरी बढिरहेको छ।
गएको चैत ११ देखि भदौ १५ सम्मको अवधिमा आत्महत्याका घटना निकै बढेको देखिएको छ। प्रहरीले संकलन गरेको तथ्याङ्कलाई हेर्दा विगतको सामान्य अवस्थामा भन्दा लकडाउन अवधिमा आत्महत्याका घटनाको ग्राफ ह्वातै बढेको छ।
चैत ११ गते देखि भदौ १५ गतेसम्मको एक सय ५० दिनमा प्रदेशभर ६ सय ७५ आत्महत्याको घटना भएका छन्। ती घटनामा ७२ जना बालबालिकासहित ६ सय ७५ जनाले अकालमै ज्यान फालेका छन्। यो अवधिमा दैनिक सरदर पाँच वटा आत्महत्याको घटना घटेको छ।
यो सामान्य अवस्था भन्दा करिव डेढ गुणाले बढी हो।
प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाका अनुसार सामान्य अवस्थामा प्रदेशमा दैनिक दुईदेखि तीनवटा आत्महत्याका घटना हुने गरेको थियो।
‘पछिल्ला समय प्रदेशमा आत्महत्याका घटना अस्वाभाविक रुपमा बढेको देखिन्छ,’ प्रहरी नायव उपरीक्षक तिम्सिनाले भने, ‘पछिल्लो एक सय ५० दिनको अवधिमा आत्महत्या गर्नेमा बालबालिकाको संख्या पनि उच्च देखिएको छ।’ यो अवधिमा भएका आत्महत्याका घटनामा २ सय ४६ महिला, ३ सय ७५ पुरुष, ४४ बालिका र २८ बालकले आत्महत्या गरेको जानकारी दिनुभयाे। जसमा झुन्डिनेको संख्या अधिक छ।
यस्तै प्रदेश १ मा दुई महिनाकाे अबधिमा मात्रै दुई सय ८९ आत्महत्याको घटना भएका छन ।