दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकास्थित लटिनाथ स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रवार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लामै पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
संक्रमित स्वास्थ्यकर्मी यसअघि गोकुलेश्वर अस्पतालमा कार्यरत रहेकोमा यहिँ भदौ ४ गते लटिनाथ स्वास्थ्य चौकीमा नियुक्त हुनुभएको थियो । संक्रमित स्वास्थ्यकर्मीले गत हप्ता दुई सय बढी बिरामीहरुको उपचार गरेको स्थानीयहरुले बताएका छन् । मार्मा गाउँपालिका गाउँकार्यपालिकाकै बैठक र विभिन्न कार्यक्रममा समेत उहाँको सहभागिता रहेको थियो ।
सयौँ व्याक्तिसंग उहाँको सम्पर्क भएकोले उच्च सतर्कता अपनाउन र सामाजिक दुरी कायम गर्न तथा होम आइसोलेसनमा बस्न सबैलाई अनुरोध गरिएको छ । मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीका अनुसार स्वास्थ्यचौकीमै कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि लटिनाथ स्वास्थ्यचौकी सिल गरेर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई आइसोलेसनमा राखिएको छ । संक्रमितको सम्पर्कमा पुगेका सबैलाई आइसोलेसन र होम आइसोलेसनमा बस्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीमा एक करिब एक हप्तादेखि ज्वरो आउने, खोकि लाग्ने र स्वाशप्रस्वासमा समस्या देखिने लगायत कोरोना संग मिल्दाजुल्दा लक्षणहरु देखा परेका थिए । केहि दिन अघि धनगढी गएको र मार्मा गाउँपालिकामै पीसीआर पोजेटिभ बिरामीको आइसोलेसनमा बिरामी हेर्न गएको बताउने उहाँले बिरामी परीक्षणकै क्रममा कोरोना संक्रमण भएको हुनसक्ने अनुमान गरेका छन् ।
गाउँघरमा समेत कोरोनासंग मिल्दाजुल्दा लक्षणहरु भएका बिरामी उपचारका लागि स्वास्थ्य संस्थासम्म आउने गरेकोले धेरैमा कोरोना संक्रमण भइसकेको भएपनि परीक्षण अभावमा पुष्टि नभएको हुनसक्ने स्वास्थ्यकर्मीहरु बताउछन् ।
शुक्रबार एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसंगै दार्चुलामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।