दार्चुला । अन्तर्राष्ट्रिय साक्षरता दिवस आज मनाइँदै छ ।
दिवसका अवसरमा आज सरकारी, युनेस्कोका संयन्त्र, सामुदायिक सिकाइ केन्द्र र गैह्रसरकारी क्षेत्रबाट भर्चुअलरुपमा विभिन्न कार्यक्रम हुँदैछन् भने शिक्षा तथा मानव संसाधन केन्द्रले स्मारिका प्रकाशन गर्नेछ ।
अहिलेसम्म नेपालका ५३ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । २४ जिल्लामा घोषणा गर्न बाँकी छ । कोरोना भाइरसको जोखिम बढेकाले यी जिल्लामा साक्षरता अभियान चलाउन कठिनाइ भएको छ । सरकारले साक्षरता अभियान घोषणा गरे पनि यसलाई प्रभावकारी बनाउन नसकेको शिक्षाविद्को टिप्पणी छ ।
व्यक्तिलाई पूर्ण साक्षर नबनाएर घोषणा गर्दा निरक्षर नागरिकको संख्या बढ्न थालेको छ । यसैबीच, राष्ट्रिय शिक्षा दिवस भने आज नमनाइने भएको छ । यसअघि अन्तर्राष्ट्रिय साक्षरता र राष्ट्रिय शिक्षा दिवस एक साथ मनाउँदै आए पनि यसपालिदेखि छुट्टै मनाइने शिक्षा मन्त्रालयले जनाएको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार राष्ट्रिय दिवस बेग्लै मितिमा आयोजना गर्ने गरी मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएको छ र नयाँ मितिबारे विभिन्न विकल्पमा छलफल भइरहेको छ ।