दार्चुला । दार्चुलाको विभिन्न स्थानीय तहमा रहेको सार्वजनिक जमिन अतिक्रमण कार्य भइरहेको जनगुनासो बढ्दै गएको छ । दार्चुला सदरमुकाम खलंगाका साथै बिभिन्न बजार क्षेत्र र गाउँघरमा रहेको सार्वजनिक, प्रति जमिन समेत अतिक्रमण भइरहेको छ ।
शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचमा रहेको सरकारी प्रति जग्गा बलाचँकै स्थानीय मानिसहरुले पशल र घर घरेडि बनाउनका लागि अतिक्रमण गरिरहेको गुनासो बढ्दै गएको छ । भौतिक संरचना निर्माणका लागि सार्वजनिक जमिनमा रहेका रुख, बोट बिरुवा समेत फडानी गर्ने काम भइरहेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ को कार्यालयले जनाएको छ ।
सार्वजनिक सम्पत्तीको दोहन नगर्न र बन फडानी गरेर सार्वजनिक जमिनमा भौतिक संरचना तयार नगर्न पटकपटक आग्रह गर्दा समेत केहि व्याक्तिहरुले अटेर गरेर अतिक्रमण कार्य गरिरहेको वडाअध्यक्ष भरत बहादुर खडायतले जानकारी दिनुभयो । जग्गा अतिक्रमण नगर्न, नगराउन र गरेको पाइएमा कानुन अनुसार कारवाही हुने जानकारी गराउदा समेत केहि व्याक्तिहरुले अटेर गरेको कारण उक्त कार्य रोकथाम र नियन्त्रण गरि आवश्यक सहयोग गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई यहि भदौ १८ गते लिखित रुपमा अनुरोध गरिएको वडाअध्यक्ष खडायतले बताउनुभयो ।
अतिक्रमण कार्य रोक्न प्रशासनलाई अनुरोध गर्दा समेत सुनुवाइ नभएको स्थानीयहरुको गुनासो छ । केहि मानिसले भौतिक संरचना तयार गरेर अरुलाई बेच्ने र फेरी नयाँ संरचना तयार गर्ने गरेकोले सार्वजनिक जमिन मास्ने सबैलाइ कारवाही गर्न स्थानीयले माग गरेका छन् ।