दार्चुला । महाकाली नदी नियन्त्रण आयोजना दार्चुलाले जिल्ला सदरमुकाम बचाँउ कार्यक्रम अन्तरगत निर्माणाधिन तटबन्ध संरचना नमस्कार देखि लास्कुखोला बंगाबगड सम्मको क्षेत्रमा गिट्टी बालुवा नझिक्न अनुरोध गरेको छ ।
दार्चुला सदरमुकाम खलंगा क्षेत्रको तडबन्ध संरचना भित्र पसेर बालुवा गिट्टी निकाल्न तथा संरचनामा बालुवा गिट्टी नथुप्रान नदी नियन्त्रण आयोजनाले भदौ २५ गते सार्वजनिक सूचना प्रकाशन गर्दै अनुराेध गरेकाे हाे ।
आयोजनाले जथाभावी निकालिएको बालुवा गिट्टी र संरचनामा राखिएको बालुवा गिट्टीले तटबन्धको संरचना कमजोर हुने भन्दै त्यस्तो नगर्न र गरेको भए १५ दिनभित्र खाली गर्न गराउन आग्रह गरेको आयोजना प्रमुख रणबहादुर वमले बताउनुभयो । १५ दिनभित्र संरचनामा थुपारिएर राखिएको बालुवा गिट्टी नहटाइए कानुन बमोजिम कार्वाहि भइ जाने सूचनामार्फत जानकारी गराएको छ ।
सदरमुकाम खलंगाको विरेन्द्र वन, डुमपानी क्षेत्र र बंगाबगड क्षेत्रमा दैनिक सयौं व्यक्तिले तडबन्धको तल गएर बालुवा गिट्टी निकाल्दै आएका छन् । अधिकासं मानिसले तटबन्ध क्षेत्रमै बालुवा जम्मा गरेर राखेका छन् ।
नदीजन्य बस्तुको संकलन कार्य तत्काल रोक्न र १५ दिनभित्र तटबन्ध क्षेत्रमा थुपारिएको गिट्टि बालुवा हटाउन अनुरोध गरिएको र कसैले अटेर गरेको पाइए कानुन अनुसार कारवाहि गरिने आयोजना प्रमुख बमले बताउनुभयो ।
हेर्नुहाेस महाकाली नदी नियन्त्रण कार्यालयले निकालेकाे सूचना!