साझ ढल्दै छ,
रात छिप्पिदै छ।
उज्यालो किरण
झिनो आशा र आवरणिय हाँसो को अन्त्य संगै
अघि बढेको यात्रा
चौलानीको बहाव सरी थाम्नै नसकिने गरी उर्लदै छ,
फेरि अध्यारो रात अनि मेरो मन !
देखावटी म र म भित्रको म
छुट्टिदै गएको आभास
एक्लिदै गएको जीवनमा
बढ्दै गएको निराशा
खोसिदै गएका खुसी
छुट्दै गएको साथ
मर्दै गएको आशा र रित्तिदै गएको मन
यस रात मा बटारिएको अतीत
छरिएको सपना
समेट्न धौ धौ छ मलाई,
परेली मा अड्केका सपना
र मुटु भित्र ऊ अलि पर बाट
चिहायीरहेका थरी थरीका
मार्न नसकी मरी रहेका केही
अनौठा रहर मेटाउन धौ धौ छ मलाई,
छिप्पिदो रातमा
आफू भित्रै समाउन गाह्रो
उर्लीदो रात अनि मेरो मन!
आखामा बिझाइरहेको निद्रा
र मनमा उब्जिसकेको छट्पटी
संगै बेहुदो म भित्र सलबलीरहेका
नमिठा र अती मिठा सम्बन्धका बातहरुमा
तीन फन्को बेरीएको जीवन
सुल्झाउन बारी बारी सुताउनै गाह्रो
उनको याद अनि मेरो मन !
ढल्दो रात अनि भिजेका परेला
पछ्याउँदै थाती रहेको भोलि अनि
बाँकी रहेका सपना टेक्नै पर्ने र देख्नै पर्ने बाध्यता संगै
हिजो डुबेको घाम फेरि उदाउन नपाउदै सजाउनु छ,
आफुलाइ मीठो मुस्कान सहितको आभूषणले
र त,फेरि बिउझिन निदाउनै पर्दा
कटाउन र फकाउनै गाह्रो
अनिदो रात अनि मेरो मन !!
(रचियता : डिलेश्वरि बिष्ट, शैल्यशिखर ९ गोकुलेश्वर, दार्चुला)