
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकाले असोज ५ गते सोमबारदेखि विद्यालय खोल्ने निर्णय गरेको छ । लकडाउनका कारण गत चैत पहिलो साता देखि बन्द रहेका शैक्षिक संस्थाहरुलाई आशिंक रुपमा सञ्चालन गर्ने निर्णय गरेर आवश्यक तयारी थालिएको अपिहिमाल गाउँपालिका शिक्षा शाखा प्रमुख विरेन्द्रसिह साउँदले जानकारी दिनुभयो ।
हालसम्म अपि हिमाल गाउँपालिकामा कसैलाई पनि कोरोना संक्रमण पुष्टि भएको छैन् । क्वारेन्टाइन बनाइएका विद्यालयहरुमा सेनिटाइजर छर्केर सरसफाइ गरिएको छ । गाउँपालिका कोरोनामुक्त रहेको कारण स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गरेर असोज ५ गतेबाट विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरिएको शिक्षा शाखा प्रमुख साउँदले बताउनुभयो । नयाँ शैक्षिक सत्र शुरु भएको पाँच महिना वित्दा समेत विद्यार्थीको पठनपाठन ठप्प भएकोले स्वास्थ्य सतर्कता अपनाउदै विद्यालय सञ्चालन गरिने उहाँको भनाई छ ।
सामाजिक दुरी कायम गर्ने, अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग र सरसफाई गर्ने तथा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर गाउँपालिकाका सबै विद्यालयमा पठनपाठन गर्ने निर्णय गरिएको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो । विद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा शनिबार सबै विद्यालयका प्रधानाद्यापकहरुसंग छलफल गर्ने कार्यक्रम रहेको शिक्षा शाखा प्रमुख साउँदले बताउनुभयो ।
अपि हिमाल गाउँपालिका भरी चार वटा माबि र १९ वटा आधारभुत गरी २३ वटा विद्यालयमा एक हजा नौ सय ८१ जना विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले विद्यालय सञ्चालनमा लिएपछि छिमेकी गाउँपालिकाका सिमा नाकाहरुमा कडाई गर्ने निर्णय गरेको छ । मार्मा गाउँपालिकाको रेला लगायत नाकामा कडाई गर्ने गाउँपालिकाले जनाएको छ ।
जिल्लाका अरु स्थानीय तहहरुले समेत स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै विद्यालय सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जनाएका छन् ।