
दार्चुला । दार्चुलाको अपिहिमाल र दुहुँ गाउँपालिकाले विद्यालय संचालन गर्ने तयारी गरेका छन् । कोरोना भाइरसका कारण छ महिनादेखि बन्द रहेका विद्यालय स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्ने तयारी थालिएको हो ।
अपिहिमाल गाउँपालिका हालसम्म कोरोना भाइरसको संक्रमण मुक्त रहेकोले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउदै आशिंक रुपमा विद्यालय खोल्ने निर्णय गरिएको छ । अपिहिमाल गाउँपालिका भरीका सबै विद्यालय अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर असोज ५ गते सोमबारदेखि सञ्चालन गर्ने निर्णय भइसकेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो ।
शिक्षण सिकाई क्रियाकलापलाई सहज बनाउन स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ असोज ८ गते देखि विद्यालय खोल्ने तयारी भइरहेको दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । स्वास्थ्य सुरक्षाका.मापदण्ड अपनाएर भौतिक दूरी कायम गरि सिफ्ट अनुसार कक्षा संचालन हुने जनाइएको छ ।
लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरुमा नकारात्मक असर परिरहेकोले जिल्लाका अरु स्थानीय तहले समेत शिक्षा क्षेत्रलाई चलायमान बनाउन तथा विद्यालय सञ्चालन गर्न छलफल भइरहेको बताएका छन् ।